१३ कार्तिक २०७८, शनिबार

काठमाडौं । लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै शुरु हुन सकेको छैन । बीम समितिले अर्थ मन्त्रालयबाट बीमा बापतको रकम रोकिएकाले भुक्तानी प्रक्रियामा समस्या भएको जनाएको छ । समितिका सूचना अधिकारी निर्मल अधिकारीले बिमितले भुक्तानी पाउन अझै कति दिन लाग्ने हो, अन्यौल नै रहेको बताउनुभयो ।

अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम १० अर्बको हाराहारीमा रहेको अधिकारीले बताउनुभयो । प्रिमियमबाट उठेको साढे तीन अर्ब रुपियाँ भुक्तानी गरिसकिएको र केही रकम बीमा कम्पनीले पनि भुक्तानी गरेकाले अब बाँकी भुक्तानी १० अर्बको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।

यसमा सरकार, बीमा समिति ,पुर्नबीमा कम्पनीलगायतको दायित्व छ । हालसम्म एक ४५ हजार जनाको बीमा दाबी परेको छ । तीमध्ये आधाभन्दा बढीलाई भुक्तानी गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

बीमा समितिले रकम निकासाका लागि अर्थमन्त्राललाई तीन पटकसम्म लिखित पत्र काटेको र मौखिक रुपमा अर्थमन्त्रीलाई जानकारी गराए पनि अहिलेसम्म मन्त्रालयबाट कुनै औपचारीक जवाफ नआएको अधिकारीले बताउनुभयो ।

यता अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भने बीमा समितिलाई आफूहरुले बीमा भुक्तानी सम्बन्धी ढाँचा तयार गर्न आग्रह गरेको बताउनुभएको छ । उक्त ढाँचा उपलब्ध भएपछि मात्र कोरोना बीमाको भुक्तानीका बारेमा छलफल अघि बढ्ने उहाँले बताउनुभयो ।

यहि असार मसान्तबाट कोरोना बीमाको अवधि सकिएकाले मसान्तपछि सङ्क्रमित भएका बिमितहरुले भने दाबी बीमा बापतको रकम नपाउने बीमा समितिले जनाएको छ ।

बीमा दाबीका लागि बीमालेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएमा बीमालेख बमोजिमको कम्पनीहरूले दाबी भुक्तानी गर्ने व्यवस्था गरिँदै आएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV