१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममा एन्फाको लिग कमिटीले खेल तालिका सार्वजनिक गरेको हो ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’को आयोजनामा हुन लागेको ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउने भएका छन् । यही कात्तिक २९ गतेदेखि शुरु हुने लिगका लागि क्लबहरुले तयारी पनि तीब्र पारेका बताइएको छ ।

१४ वटै क्लबका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालका अनुसार लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोवाटो युथ क्लब आमने सामने हुने भएका छन् ।

यस पटकको लिग कम्तिमा ४ महिना सञ्चालन गर्ने एन्फाले तयारी गरेको छ । लिग कमिटीका निर्देशक सञ्जीव मिश्रले उद्घाटन खेल फ्लड लाइटमा खेलाइने जानकारी दिए ।

दोस्रो दिन हिमालयन शेर्पा र संकटा क्लब आमने सामने हुने छन् । त्यस्तै सोही दिन थ्री स्टार र च्यासल युथ क्लब आमने सामने हुने छन् । १३ राउण्डमा ९१ खेलबाट लिगको विजेता टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV