१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन । लोकतन्त्रको मूलभूत मान्यता भनेको स्वतन्त्र न्यायापालिका पनि हो । सर्वोच्च अदालतमा छलफल चलेका विषयमा कांग्रेसले कहिल्यै पनि हस्तक्षेप गर्दैन । यो विषयमा गठबन्धन दलभित्र छिनोफानो गर्नुपर्छ । पार्टीले संस्थागत रुपमा यो विषयमा छलफल गरेको छैन ।’

उनले थप भनिन्, ‘संसदीय दलमा पनि यो कुरा छलफल भएको छैन । व्यक्तिगत रुपमा भन्दा यो कुरा अदालतबाट टुंगो लगाउने वा संसद्बाट टुँगो लगाउने हो ? गठबन्धनमा छलफल होस ।’ त्यस्तै उनले न्यायापालिका जनताको आत्माको केन्द्रविन्दू भएको बताइन् ।

उनले भनिन्, ‘न्यायापालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका शक्ति पृथकीरणअनुसार चल्नुपर्छ । हेर्नुहोस्, सबै नेपाली जनताको आस्थाको केन्द्र सर्वोच्च अदालत नै हो । अहिले नेपाली जनतामा निराशा पैदा भएको छ ।’

उनले सर्वोच्च अदालत स्वतन्त्र रहेको सुनाउँदै यसको दायराभित्र हस्तक्षेप गर्न नहुने पनि बताइन् । उनले भनिन्, ‘विद्यमान समस्याको निरुपण त्यही क्षेत्रमा, त्यही मातहतमा बसेर खोजी गर्दा राम्रो हुन्छ । हरेक कुरामा राजनीति छिरायो भने राम्रो हुँदैन । सबै पार्टीका नेतागणहरुले मुलुकको निकासको लागि खासगरी उहाँहरु राष्ट्रिय ईस्युको बारेमा एकमत हुनुपर्छ ।’

उनले फेरि भनिन्, ‘छिटो गठबन्धन दलभित्र अहिलेको न्यायालयको निकासबारे छलफल हुनुपर्छ । यसको निरुपण संसदले गर्ने कि न्यायालयले ? भनेर छलफल हुनुपर्छ । यो समस्या यथास्थितिमा यथावत राख्दा ठूलो संकट आउँदैछ भनेर विज्ञहरु भनिरहेका छन् ।’

सांसद संग्रौलाले जनताको आवाज बुलन्द पार्ने थलो संसद्को अधिवेशन भएको बताइन् । उनले भनिन्, ‘जनताका यावत समस्या छन, त्यसको बारेमा हामीले आफ्ना कुरा राख्न पाएनौं । संसद् प्रतिपक्षीको हो । समाधानको लागि सभामुखले पहल पनि गर्नुभयो । समाधानको उपाय खोज्नुभयो । तर, प्रतिपक्षले विरोध गरिरह्यो । जनताका मुख बन्द भए । हाम्रा आवाज बन्द भए । हामीले केही नबोली यो संसद् अधिवेशन अन्त्य भयो ।’

त्यस्तै उनले देशभरि हालै आएको बेमौसमी वर्षाको कारण किसानहरु ठूलो मारमा परेको र अरबौंको बाली/नाली क्षति भएको उल्लेख गर्दै उनीहरुलाई मल्हम लगाउनेगरी सरकारले ५ अर्ब राहत दिने निर्णय गरेकोमा स्वागत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV