१२ कार्तिक २०७८, शुक्रबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बाहिरबाट कच्चा पदार्थ ल्याउने वा आफ्नै कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगहरुलाई भारी छुट दिने सरकारको नीति भएको बताएका छन् ।

शुक्रबार (आज) ललितपुरमा १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले मुलुकमा उत्पादनबृद्धि गर्नका लागि कच्चा पदार्थमा आधारित उद्योगहरुलाई भारी छुट दिने नीति भएको बताएका हुन् ।

उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्र आत्मनिर्भर हुने धारणा राखे । मुलुकमा उत्पादन भइरहेको बिद्युत खेर गइरहेको अवस्थामा पनि मुलुकमा उद्योगहरुको स्थापना र भएका उद्योगहरुको सहज सञ्चालन आवश्यक रहेको उनले बताए ।

त्यस्तै उनले मुलुकमा उत्पादनबृद्धि नभएसम्म व्यापार घाटा न्यूनीकरण हुन नसक्ने र गरिवी पनि घटाउन नसक्ने जिकिर गरे । मन्त्री शर्माले उपत्यकाभित्र १२ वटा पार्क निर्माण गर्ने योजना रहेको जानकारी पनि दिए ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु मेला कात्तिक १५ गतेसम्म ललितपुरको जावलाखेलमा चल्नेछ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चार वटा सूचनामूलक गरी ४८ वटा स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV