११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समिति, सिन्धुपाल्चोकको संयुक्त आयोजनामा चौथो पाँचपोखरी विन्टर हाफ म्याराथन कात्तिक २७ गते हुने भएको छ ।

नेपाल एथलेटिक्स संघको समन्वयमा हुन लागेको प्रतियोगितामा २१ किलोमिटर दूरीमा ३ विधा प्रतिस्पर्धा हुने समितिका अध्यक्ष टासी शेर्पाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुष/महिला खुला, सिन्धुपाल्चोकका स्थानिय तथा भेट्रान ४५ वर्षमाथि उमेरसमूहमा दौड हुने छ ।

पुरुष/महिला दुवैमा समान पुरस्कार राशी राखिएको छ । खुलामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । स्थानियतर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । भेट्रानका विजेताले १० हजार, उपविजेताले ८ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जित्ने छन् ।

तीन विभागीय टोलीसहित व्यक्तिगत रुपमा करिब १ सय ५५ खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

कुल खर्च मध्ये १० लाख परिषद्ले उपलब्ध गराउने र बाँकी अर्को आयोजक समितिले जुटाउने सदस्य–सचिव भण्डारीले बताए । त्यसका लागि दुई आयोजक परिषद्का सदस्य-सचिव भण्डारी, समितिका अध्यक्ष शेर्पा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

पत्रकार सम्मेलनमा सदस्य-सचिव भण्डारीले अर्को संस्करणदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रिय बनाउने तयारी रहेको पनि बताए ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले प्रतियोगितालाई प्राविधिक रुपमा सहज बनाउन संघसंग सहकार्य गर्दा सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV