११ कार्तिक २०७८, बिहीबार

रोल्पा । २०६४ यता मुलुक शान्ति प्रक्रियामा गयो । करिब १० वर्ष लामो आन्तरिक द्वन्दले थलिएको देश र जनताले बल्ल लामो शास फेर्न पाएका थिए ।

त्यो बेला कति अनुहारमा खुसी देखिएको थियो त, द्वन्दमा परिवारका सदस्य गुमाएका मानिसहरुका अनुहारमा निराशा छाएको थियो । जे होस् लामो समय चलेको द्वन्दको विसर्जन भएपछि समग्र रुपमा सबैले परिबर्तनको आशा बोकेर नयाँ नेपालको पर्खाईमा बसेका थिए ।

दश वर्षसम्म चलेको शस्त्र १० वर्षे द्वन्द्वमा आमूल परिवर्तनको मोर्चा बोकेर होमिएका करिब १७ हजार जना शहीद भए, हजारौं घाइते भए, बेपत्ता भए । २०६४ को निर्वाचनपछि तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीको सरकार बन्यो ।

सरकारले शहीदहरुका सम्मानका लागि शहीद नै नामाकरण गरेर विभिन्न आयोजना योजनाहरु अगाडि बढायो । जसमध्ये तत्कालीन जनयुद्धको उद्गम स्थल रोल्पाको होलेरीमा शहीदहरुकै सम्मानका लागि तत्कालीन शान्ती मन्त्रालयद्वारा शहीद गेट बनाउन भनेर क्रमागत १० लाख बजेट विनियोजन गरियो ।

होलेरीका समाजसेवी युवराज चन्दको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर गेट निर्माण प्रक्रिया अगाडि बढाइयो । शुरूवाती वर्षमा ६८ हजार रकम आउँदा उपभोक्ता समितिले पूर्वाधारको काम अगाडि बढाउन सकेन । तर पछिल्लो आर्थिक वर्ष २०६५–६६ मा पुनः १ लाख बीस हजार रकम आएपछि शहीद गेटको पिलर बिछ्याउने लगाएतका कामहरु अगाडि बढाएको चन्द बताउँछन् ।

‘४–५ आर्थिक वर्ष गरेर जम्मा ५ लाख जति बजेट गेटका निर्माणका लागि आइपुग्यो र हामीले दुई वटा पिलर स्थापना गर्यौं’, चन्दले भने, ‘त्यसपछि बजेट आए अनुसार बिस्तारै काम अघि बढ्दै थियो । तर आर्थिक बर्ष २०७४–७५ मा घोराही, होलेरी–थबाङ जोड्ने शहीदमार्ग आयोजनाको काम शुरु भएपछि मलाई थाहै नदिई स्थानीय एक–दुई जना नेताहरुको अगुवाईमा दक्षिणतिरको पिलर भत्काइएछ । र काम लाथालिङ्ग भयो ।’

तत्कालीन उपभोक्ता समिति अध्यक्ष चन्दले भने जस्तै यो कुरा साचो हो वा होइन ? त्यस यता आजसम्म कुनै छानबिन समितिनै बनेको छैन । त्यस यता मुलुकमा व्यवस्थाहरु पटक–पटक परिवर्तन भए, २०७४ यता देशमा संघीयता लागू भयो तर स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले समेत यसबारे औपचारिक रुपले कतै पनि बोलेको सुनिएको छैन ।

त्यतिबेला गेट बनाउन खर्च गरेको ५ लाख रकम बालुवामा पानी जस्तै भएको स्थानीयहरुको गुनासो छ । २०५८ सालमा तत्कालीन सरकार पक्ष शाही नेपाली सेनाले होलेरीमै गोली हानी हत्या गरेको रुन्टीगढी ६ सरेचौर गाउँका रोबर बिकको परिवारलाई अहिले साझ बिहानको छाक टार्न हम्मेहम्मे परिरहेको छ ।

तर शहीदहरुकै सम्मानका लागि भनेर अलपत्र पारिएको निर्माणाधीन शहीद गेट निर्माण शुरूवात गरिएको १४ बर्षसम्म बचेको एउटा पिलरले यहाँका स्थानीय सरकार तथा राजनैतिक दलहरुलाई गिज्ज्याई रहेको छ । घोराही–होलेरी शहीद मार्ग अन्तर्गत पर्ने होलेरीमा बनाएको यो गेट त घोराही, होलेरी–थबाङ शहीद मार्ग अगाडि बेथिति र शहीदहरुका सपना कति पूरा भए ? र शहीदहरुलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ? भन्ने सानो उदाहरण मात्र हो ।

कालोपत्रे गरेको डेढ वर्षमै छिया–छिया बनेको घोराही–होलेरी शहीदमार्गको अवस्था हेर्दा त राज्यले शहीदहरुका छातीमा निर्ममतापूर्वक कुल्चिएको अनुभुति हुने स्थानीयहरु बताउँछनन् ।

मुलुक संघीयतामा गएपछि पनि धेरै पटक सरकार फेरियो । सरकारमा विभिन्न दलहरू पुगे तर शहीदहरुका सम्मानका लागि नत स्थानीय सरकार र अन्य राजनैतिक दलले नै आवाज उठाए न त प्रदेश सरकार र संघीय सरकारले नै ।

स्थानीय सरकारका पदाधिकारीहरु त्यहीँ शहीद मार्गमा अलपत्र शहीद गेट भएको ठाउँबाटै चिल्ला गाडिमा हुइकिन्छन तर, उनहरुको नजरमा अलपत्र शहीद गेट परेन । शहीदमार्ग हिउँदमा पूरै धुलाम्मे र वर्षातमा पुरै हिलाम्मे हुने गर्दछ ।

गाडीको सीसा बन्द गरेर एसी लगाएर हुइकिन पाएपछि ध्यान पनि कसरी जाओस् ? अन्य दलका स्थानीय नेताहरू राजनीति जागिरै हो कि जसरी दिनभर होलेरीमै चिया चौतारोमा हास्दै चियाको चुस्की लिदै रमाइरहेका हुन्छन्, तर उनीहरुको ध्यानपनि शहीदहरुका सम्मान र जनताका सहजताका लागि जान सकेन ।

मुलुक परिवर्तनका खातिर आफ्नो ज्यानै समर्मित गरेका शहीदहरुका सम्मान त भएकै छैन, बरु उनीहरुका नाममा कमाउने खेलो भइरहेको यस क्षेत्रका स्थानीयहरुको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV