११ कार्तिक २०७८, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्षसहित अघि बढ्न निर्देशन दिएका छन् । कोरोनाविरुद्धको खोपमा कुनै कमी हुन नदिन र खोप अभियानलाई सरकारी लक्षअनुसार सफल बनाउनका लागि खोपको व्यवस्थापन गर्नमा उनकाे जाेड थियाे ।

आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले खोप वितरण प्रभावकारी बनाएर कोरोना नियन्त्रणमा केन्द्रित हुन सरोकारवाला सबैलाई निर्देशन दिए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप बारे भएको प्रगति प्रतिवेदन पेश गरेको थियो । जस अनुसार अहिलेसम्म मुलुकभर ३४ प्रतिशत नागरिकले कोरोना खोपको पहिलो डोज लगाएका छन् भने २२ प्रतिशत नागरिकले पूर्ण डोज लगाएका छन् ।

अमेरिकाबाट थप ४० लाख मोडर्ना र ४० लाख फाइजर खोप तथा चीनबाट पनि ४० लाख भेरासेल खोप खरिद गरेर ल्याउन लागिएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV