११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । साहित्यकार निलम कार्की ‘निहारिका’को हालै प्रकाशित उपन्यास ‘द्रौपदी अवशेष’माथि विमर्श गरिएको छ । संघीय राजधानीमा लोकवार्ता परिषद् नेपालद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त उपन्यासमाथि विमर्श गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद छक्कबहादुर लामाले उपन्यासले हुम्लाको यथार्थपरक र गम्भीर विषय उठान गरेको बताउनुभयो । पौराणिककालीन पात्र द्रौपदीसँग जोडिएको सामाजिक परम्परा हुम्लामा अझै पनि कायम रहेको उहाँको भनाइ थियो ।

उपन्यासमा परिवेश, विषयवस्तु र घटनाक्रम यथार्थपरक भएको उहाँले बताउनुभयो । उहाँले फरक परिवेशमा हुर्केकी लेखकले बहुपति  प्रथालाई जीवन्त रुपमा प्रस्तुत गरेको भन्दै सांसद लामाले उपन्यायसकार निलमको प्रसंशा गर्नुभयो ।

कार्यक्रममा अर्का वक्ता प्रा.डा. वीणा पौड्यालले उपन्यासले कला, संस्कृति, पर्यटन, धर्म आदि बहुविषय पनि उठान गरेको बताउनुभयो । उपन्यासको मुख्य विषयवस्तु बहुपति प्रथा भएको उहाँको भनाइ थियो ।

उपन्यासमा महिलाको विषय उठान गर्न महिला लेखक भएकोले नै अझ सशक्त भएको प्रा.डा. पौड्यालले बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. सावित्री मल्ल कक्षपतिले उपन्यासमा यथार्थता र विविधता भएको बताउनुभयो । उपन्यासमा चलचित्र बन्नसक्ने बलियो सम्भावना भएको तर चलचित्र बनाउन हतार नगर्न उहाँले सुझाव दिनुभयो ।

‘द्रौपदी अवशेष’ एक भिन्न पहिचान भएको अर्का वक्ता डा. धनप्रसाद सुवेदीले बताउनुभयो । विद्यमान बहुपति परम्परालाई आधार बनाएर सफल उपन्यास लेखन भएको उहाँको भनाइ थियो । उपन्यासमा प्रेम, जीवन र स्वतन्त्रताजस्ता विषयलाई रोमाञ्चक ढंगले व्याख्या गरिएको उहाँले बताउनुभयो ।

उपन्यासकार निहारिकाले रचनागर्भ, विषयवस्तुको छनौट, लेखन र विमर्शसम्मका विषयमा धारणा व्यक्त गर्नुभएको थियो । पाठक र समालोचकको सकारात्मक प्रतिक्रियाबाट आफू उत्साहित रहेको र विषयवस्तु छनौटप्रति गर्व लगेको उहाँले बताउनुभयो ।

बहुपति प्रथाको उठान गम्भीर भएकोले पनि गलत र सही भन्नु भन्दा पनि सामाजिक सांस्कृतिक यथार्थ बाहिर ल्याउने प्रयास गरेको उपन्यासकार निहारिकाको भनाइ थियो ।

निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ गत साउन एक गते हुम्लाको नाम्खा गाउँपालिका सार्वजनिक गरिएको थियो । उपन्यास हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV