११ कार्तिक २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिनुभएको हो । उहाँले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्यमा केन्द्रित हुन निर्देशन दिनुभयो ।

बैठकमा देउवाले भन्नुभयो, ‘आगामी ६ महिनाभित्र सरकारले सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ ।’

तत्कालीन केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी( गठन गरेको थियो । तर, सो अध्यादेश निष्क्रिय भएपछि देउवा सरकारले गठन आदेशमार्फत् प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV