१० कार्तिक २०७८, बुधबार
  • सन्तोश पौडेल,

खोटाङ । ट्राफिक प्रहरी कार्यालय खोटाङले नियम विपरित चलेका विभिन्न यातायातका साधनका सवारी धनीलाई कारबाही गरेको छ । गत साउनदेखि यता ३ महिनामा नियम विपरित चलाइएका ५५० सवारी साधनमाथि ट्राफिक प्रहरी खोटाङले कारबाही गरेको हो ।

गत साउनदेखि कातिकको पहिलो सातासम्म मापदण्ड विपरीत चलेका विभिन्न ४५० यातायातका साधनमाथि ट्राफिक प्रहरी कार्यालयले कारवाही गरी ३ महिनामा ४ लाख ७० हजार राजश्व सङ्कलन गरेको ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक दलबहादुर खत्रीले बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७७–७८ मा जिल्लाबाट कारबाहीमा परेका सवारी साधनबाट २७ लाख ७६ हजार राजश्व सङ्कलन गरेको थियो । ट्राफिक नियम उलङ्घन गर्ने चार हजार तीन सय सवारी साधनलाई कारबाही गर्दा उक्त राजश्व सङ्कलन भएको जनाइएको छ ।

पछिल्लो समय जिल्लामा सडक दुर्घटनामा ट्याक्टर दुई, टाटा सुमो एक र मोटरसाइकल एक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लामा चोरीका सवारी साधन दुई वटा मोटरसाइकल रहेको र हालसम्म पनि चोरीको मोटरसाइकल आफ्नो हो भनि प्रहरी समक्ष कोही पनि नआएको बताइएको छ ।

सवारी दुर्घटनाको कारण भने लापरबाही तरिकाले सवारी साधन चलाउनु, ओभरट्याक, मापसे, ओभरस्पीडका कारण दुर्घटना हुने गरेको पाइएको छ ।

ट्राफिक नियमको पालना र त्यसको कार्यान्वयनसँगै प्रहरीले तिहार र छठ पर्वको अवसरमा मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्दा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा चेकजाँचलाई कडाइ गरिएको ट्राफिक सहायक निरीक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV