१० कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ ।

नेपाल बारले बुधबार (आज) प्रेस विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेशी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ । अनपेक्षित तथा अनिवार्य परिस्थिति सिर्जना भएकाले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं ।’

बारले केही दिन धैर्यधारण गरी न्यायिक सुधारको कार्यमा सहयोग गर्न आग्रह पनि गरेको छ । त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषदमा र संवैधानिक नियुक्तिमा भागवण्डा लिएको, न्यायपालिकामा विकृति विसंगति बढ्दै गएको, न्याय क्षेत्रको नेतृत्व गर्न नसकेको भन्दै बारले उनको राजीनामा माग पनि गरेको छ ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशब्यापी आन्दोलन गर्ने भन्दै बारले अदालतमा बहस बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV