१० कार्तिक २०७८, बुधबार

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ । आगामी मंसिरदेखि लागू हुनेगरी आयोगले नयाँ महशुल दर कायम गरेको हो ।

बुधबार पत्रकार सम्मेलनमार्फत् नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको जनाएको छ ।

आयोगका अनुसार नयाँ विद्युतदरमा विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क छुट गरिएको छ र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिरे पुग्ने बताइएको छ ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ ।

आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्म गरि विभिन्न स्ल्याब कायम गरेको छ ।

महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको जनाइएको छ भने १०१ युनिट भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म महसुल कम भएको छ ।

यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई फाइदा पुर्याएको छ ।

४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ तोकिएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी लाभ सिँचाइका ग्राहकलाई दिइएको छ । सिँचाइका ग्राहकले ८० प्रतिशतसम्म महसुल छुट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV