९ कार्तिक २०७८, मंगलवार

काठमाडौं । सिण्डिकेट प्रकरण र पछिल्लो समय कोरोना महामारीका कारण बन्द मलेसिया रोजगारीको बाटो खुला भएको छ ।

काठमाडौंस्थित मलेसियाको दूतावाासले विज्ञप्ति जारी गर्दै महामारीका कारण लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएसँगै मलेसिया रोजगारीको बाटो खुलेको हो।

मलेसिया पठाउन सिन्डिकेट अपनाइएको भन्दै विवाद भएपछि म्यानपावरले २०७५ जेठ २ गतेदेखि नेपाली श्रमिक मलेसिया जान सकेका थिएन् । त्यतिबेला श्रममन्त्री गोकर्ण विष्ट थिए ।

तर, सिन्डिकेटका कारण बन्द भएको १० महिनापछि २०७५ चैतदेखि सरकारले मलेसिया रोजगारी खुला गरेको थियो । रोजगार खुला भएलगत्तै कोभिड–१९ का कारण मलेसिया रोजगारी पुनः बन्द भएको थियो ।

र, अहिले झन्डै तीन वर्षपछि कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै मलेसिया रोजगारी खुलाइएको छ । तर, अझैँ पनि सिन्डिकेट प्रकरण निम्तिने खतरा छ ।

त्यतिबेला २०७५ मा बायोमेट्रिक, भीएलएन, जीएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणलगायतमा ठगी धन्दा चलेको थियो ।

त्यसपछि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टले मलेसिया रोजगारी तत्कालका लागि बन्द गरिदिएका थिए । सिन्डिकेटधारी ३७ वटा संस्थामा प्रहरीले छापा मार्यो । तर, सबैलाई पक्राउ गर्न सकेन । केही सञ्चालकलाई नियन्त्रणमा लिइयो । तर, पक्राउ परेकाहरु राजनीतिक आडमा पछि छुटकारा पाए ।

विभिन्न विवादका बीच फेरि मलेसिया रोजगारी खुलेको छ । अब, रोजगारीका लागि प्रवेश गर्नेहरुले निश्चित मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ ।

अब, मलेसिया जानेले त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्ने भनिएको छ । यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यताप्राप्त कोरोना खोपको पूरा मात्रा लगाएको हुनुपर्नेछ ।

फ्रि भिसा फ्रि टिकटबारे भएन निर्णय

सरकारले मलेसिया रोजगारीमा जान पुनः बाटो खुला गरे पनि फ्रि भिसा फ्रि टिकट अर्थात् निशुल्क रुपमा रोजगारीमा जान पाउनेबारे कुनै निर्णय गरेको छैन ।

मन्त्रालयले शून्य लागतको सम्झौता गरिसकेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । यस विषयमा सरकारले फेरि एक चरण बैठकमा बस्ने भनेको छ ।

समझदारी पत्रमा के छ ?

मलेसिया र नेपालबीच १२ कात्तिक २०७५ मा कामदार पठाउन सम्झौता भएको थियो । श्रम सम्झौता १७ वर्षका लागि गरिएको थियो ।

सम्झौतामा पत्रमा हस्ताक्ष गर्नेहरुमा नेपालका तर्फबाट तत्कालीन श्रममन्त्री विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन थिए ।

सम्झौतामा मलेसिया जाने नेपाली श्रमिकलाई कुनै पनि शुल्क तिर्न नलगाइने भनिएको थियो । उनीहरुलाई
सामाजिक सुरक्षाको ग्यारेन्टीसहित मलेसिया लैजाने भनिएको थियो ।

तर, यहीँ बीचमा मलेसिया रोजगारीमा जाने नेपालीहरू चरम आर्थिक शोषण, बायोमेट्रिक, भिएलएन, ओएससी, जिएससी र माइग्रामजस्ता भेण्डर कम्पनीले नेपाली श्रमिकमाथि ठगी धन्दा चलाएपछि तत्काललाई मलेसिया रोजगारीमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV