९ कार्तिक २०७८, मंगलवार
  • दान बहादुर बुढा

मुगु : विगत लामो समयदेखि चुहिने भवनबाट स्वास्थ्य सेवा दिँदै आएको १५ शैय्याको मुगु जिल्ला अस्पतालले अब आधुनिक भवनबाट सेवाग्राहीलाई सेवा पुर्याउने भएको छ ।

मंगलबार दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण भएको आधुनिक भवन जिल्ला अस्पताल, मुगुलाई नेपालका लागि कोरियन राजदूत पार्कचोङ्गको उपस्थितमा भवन उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

कोरिया सरकारको आर्थिक सहयोगमा भवन निमार्णको जिम्मा पाएको लुम्बिनी बिल्र्डस प्रा.लि.ले ३० महिनामा आधुनिक भवन निर्माण गरेको थियो । भवनको कूल लागत २५ करोड ७५ लाख रहेको छ । आधुनिक भवन ८० शैय्यासम्म रहेको स्वास्थ्य सेवा कार्यालयका ब्यवस्थापक ज्ञानसिंह बुढाले जानकारी दिएका छन् ।

१० वर्ष अगाडि मुगुमा कोरिया सरकारले चिकित्सकसहितको टोलीले स्वास्थ्य शिबिर सञ्चालन गरेको थियो । त्यतिबेला रुखबाट लेडेर उपचार गर्न आएका बालकको मृत्यु भएपछि कोरिया सरकारले अस्पताल बनाउने घोषणा गरेको थियो ।

 

भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका नेपाल स्थित कोरियाका कन्ट्रि डाईरेक्टर सोहोन कोले अब यो भवनबाट गुण स्तरिय सेवा र भवनको संरक्षण नेपाल सरकार, प्रदेश सरकारलगायत सरोकारवाला निकायले गर्नुपर्ने बताए ।

मंगलबार हस्तान्तरण भएको आधुनिक अस्पताल मुगु जिल्लामा मात्र नभई कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमै ठूलो योगदान पुर्याएको छ ।

 

अस्वस्थका कारण अस्पताल हस्तान्तरण कार्यक्रमा सहभागी हुन नसकेका कर्णाली प्रदेशका सामजिक बिकास मन्त्री यज्ञबहादुर बूढा क्षेत्रीले कोरियन सरकार, राजदूत र कोलाई धन्यवाद दिएका छन् । साथै, आगामी दिनमा पनि थप सहयोगका लागि दक्षिण कोरिया सरकारसँग उनले आग्रह गरे ।

भवन आधुनिक, जनशक्ति अभाव

मंगलबार कोरिया सरकारले आधुनिक भवन प्रदेश सरकारलाई जिम्मा हस्तान्तरण गरे पनि अबका दिनमा अस्पतालमा दक्ष जनशक्ति अभाव भने देखिएको छ ।

नयाँ सुविधा सम्पन्न भवन पाएकोमा मुगुबासी अत्यन्त खुसी देखिएपनि सेवा प्रवाहमा जनशक्ति अभाबले सेवाग्राहीहरु मर्कामा पर्ने देखिन्छ ।

जिल्ला अस्पातल सञ्चालनका लागि २८ जना जनशक्ति चाहिन्छ । तर, अस्पतालमा आधा संख्याका दरबन्दी पनि छैन । जिल्ला अस्पातलमा बिशेषज्ञ डाक्टरको दरिबन्दी अपरिहार्य भनिए पनि कर्णाली प्रदेश सरकारले त्यसको व्यवस्था गर्न सकेको छैन ।

केही समयअघिसम्म जिल्लामा १ जना बिशेषज्ञ डाक्टरसहित नौँ जना डाक्टरहरु रहेका थिए । तर, हाल ५ जना मात्र डाक्टरहरुले सेवा दिइरहेका छन् ।

डाक्टररको दरबन्दीको समस्या र अन्य समस्यासमेत हल हुने भनिएपछि अस्पतालले सुलभ सेवा दिन सक्ने अस्पतालका प्रमुख बुढाको भनाइ छ ।

कोरिया सरकारले ठूलो लगानीमा सेवा सुविधासहितको भवन र अन्य स्वास्थ्य उपकरण, औजारसमेत सहयोगस्वरुप दिएको उनले बताए । उनका अनुसार यसकारण अहिलेलाई थप स्वास्थ्य सामग्री माग गरिरहनपर्दैन ।

स्थानीय सरकार र जिल्लामा रहेका सबै सरोकारवालाको काँधमा आएको अस्पताल कारिया सरकारले लिएको लक्ष्यअनुसार अघि नबढे लगानी खेर जाने निश्चित छ । यसका लागि प्रदेश सरकारसँग डाक्टरलगायत अन्य सेवासुविधा दिलाउन भनिसकेको छाँयानाथ रारा नगरपालिका मुगुका नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV