९ कार्तिक २०७८, मंगलवार
  • राजेन्द्र अधिकारी

पोखरा ।  ज्यान मार्ने धम्की दिँदै अभद्र व्यवहार गर्नेका विरुद्ध दिईएको निवेदन ३-४ दिन हुँदासम्म पनि जिल्ला प्रहरी कार्यालय कास्कीले दर्ता गर्न मानेको छैन । पोखरा महानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराम पौडेलले कार्तिक ३ गते आफूलाई सोही कार्यालयका कानुन अधिकृत नारायण शर्माले सिध्याइदिन्छु भन्दै ज्यान मार्ने धम्की दिएपछि कास्की प्रहरीकोमा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले महानगरपालिका भित्र कर्मचारीबीचको विषय भएकोले सकभर मिलापत्र होस् भन्ने चाहेर निवेदन दर्ता नगरेको बताए । उनले भने, ‘निवेदन दर्ता भएको छैन, तर हामीले अनुसन्धान गरिरहेका छौं । कुरा मिलेन भने दर्ता गरेर कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’

पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालकै उपस्थितिमा उनकै कार्यकक्षमा चलिरहेको छलफलका क्रममा कानुन अधिकृत शर्माले पौडेललाई धम्की दिएका थिए । लगत्तै महानगरपालिकामा पौडेलले दोषीमाथि कारवाहीको लागि निवेदन दिए पनि प्रशासकीय अधिकृत बरालले अहिलेसम्म कुनै पनि विभागीय कारवाही पनि गरेका छैनन् ।

कारोबार बन्द गर्ने चेतावनी

यता, महानगरपालिकाका लेखा कर्मचारीहरुले धम्की दिने दोषीलाई कारवाही नगरे सम्पूर्ण आर्थिक कारोबार गर्ने चेतावनी दिँदै ज्ञापन पत्र बुझाएका छन् । प्रमुख प्रशासकीय अधिकृत बराललाई ज्ञापन पत्र बुझाउँदै व्यक्तिगत सुरक्षाको प्रत्याभूति हुने गरी महानगरपालिकाका कानुन अधिकृत नारायण शर्मालाई तत्काल कारवाही प्रकृया अगाडि नबढाएमा सम्पूर्ण आर्थिक कारोबार बन्द गर्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

महानगरपालिकाका कानुन अधिकृत नारायण शर्माले गत कार्तिक ३ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालको कार्यकक्षमा कानुन व्यवसायी कमलप्रसाद अर्यालको विषयमा भएको छलफलका क्रममा वित्त व्यवस्थापन महाशाखा प्रमुख जयराम पौडेललाई रकम भुक्तानी नदिए सिध्याइदिन्छु भन्दै धम्क्याएका थिए । लगत्तै कानुन अधिकृत शर्मालाई कारवाही गरिपाउँ भनी वित्त महाशखा प्रमुख पौडेलले सोही दिन कार्यालयमा निवेदन दिएका थिए । तर हालसम्म पनि कारवाहीको प्रकृया अगाडि नबढेपछि लेखा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

तत्काल दोषीलाई कारवाहीको माग गर्दै आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई १२ जना लेखा कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

कारबाही गर्न माग

‘ज्यान मार्ने धम्की दिने कानुन अधिकृत शर्मालाई तत्कालै प्रहरी प्रशासनले कारवाही गर्नैपर्छ,’ वित्त व्यवस्थापन महाशाखाका प्रमुख पौडेलले भने, ‘यस्ता अपराधिक मानसिकता भएका व्यक्तिले भोलि जे पनि गर्न सक्छन् । म लगायत त्यहाँ कार्यरत कर्मचारीको पनि सुरक्षाको माग गर्दछु ।’

यता, कानुन अधिकृत शर्माले आफूले सिध्याई दिन्छु भनेर ज्यान मार्ने धम्की दिएको तथ्य गलत भएको दावी गर्दै आईरहेका छन् । महानगरपालिकामा यहीँ विषयमा पटक–पटक छलफल चलिरहे पनि पौडेलले शर्मालाई कानुनी कारवाही गर्नुपर्ने भन्दै अडान राख्दै आईरहेका छन् ।

तर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बरालदेखि प्रहरी प्रशासनसम्मले कारवाही प्रक्रिया अघि नबढाउँदा माथिबाटै दवाव आएर यो विषयलाई दवाउन खोजिएको भन्दै महानगरपालिकाका कर्मचारीहरुले सम्पूर्ण आर्थिक कारोबार ठप्प पार्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV