९ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । न्यायाधीश समाज, नेपालले सर्वोच्च अदालतको पछिल्लो विवादबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै समाजका उपाध्यक्ष बाबुराम रेग्मीले राजनीतिक भागबन्डाका कारण न्यायपालिकामा विसंगति देखिएको बताएका हुन् ।

रेग्मीले न्यायपालिकाले सदैव स्वच्छता र विश्वसनीयता कायम गर्नुपर्ने बताएका छन् । साथै उनले न्यायिक नेतृत्वको बारेमा उठेका विवादका सम्बन्धमा संविधानको दायराभित्र रहेर समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘विगत केही समयदेखि निरन्तर रुपमा न्यायपालिका र खासगरी न्यायिक नेतृत्वका सम्बन्धमा उठाइएका प्रश्नहरु, हुने गरेका आलोचना र विभिन्न कोणबाट व्यक्त गरिएका सरोकारहरुप्रति हामी चिन्तित छौँ र ती कुराहरुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

न्यायपालिकामाथि निष्पक्षताको कुरामा प्रश्न खड़ा हुनु र भागबन्डाको आरोप लाग्नु दुःखद विषय रहेको समाजको ठहर छ । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनु पर्ने सझाव समेत दिइएको छ ।

साथै न्यायपालिका संस्था निर्माणका लागि त्याग र समर्पण चाहिने बताउँदै समाजले भनेको छ, ‘क्षणिक वा दलीय वा अन्य कुनै पनि प्रकारको सुविधा वा फाइदा मात्रै हेरेर संस्था र पद्धति निर्माण हुन सक्तैन ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV