९ कार्तिक २०७८, मंगलवार

खोटाङ । विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नेकपा एमालेको वडा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ–आफ्नो दाबी नछाडेपछि एमाले राजापानीको वडा अधिवेशन हुन नसकेको हो । ९ कात्तिकमा हुने पालिका अधिवेशनपछि वडा कमिटीलाई टुंगो लगाउने तयारी गरिएको एमालेले जनाएको छ ।

प्रदीप निवर्तमान वडा कमिटी अध्यक्ष हुन् । यद्यपि, विवादका बीच नगर अधिवेशनमा सहभागी हुने पाँच जना प्रतिनिधि भने चुनिएका छन् । जिल्लाका ७९ वडामध्ये ७८ वडाको अधिवेशन सम्पन्न भइसक्दा राजापानीको अधिवेशन बाँकी रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।

विभिन्न कारणले ६ र ७ कात्तिकमा हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र रावाबेँसी गाउँपालिका–६ हौंचुरको वडा अधिवेशन ८ कात्तिकमा सम्पन्न भएको छ ।

यस्तै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिवेशन ८ कात्तिकमै टुंग्याइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।

आसन्न १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटीमा वडा स्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिवसहित सदस्य चयन गरिरहेका छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV