९ कार्तिक २०७८, मंगलवार

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति जनताको विश्वास उठ्ने काम कसैले पनि नगर्न आग्रह गरेका छन् ।

सोमबार राति विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ओलीले जनताको आस्था र विश्वास रहेको अदालतको हुर्मत लिने काम राजनीतिक दलहरुले गर्न नहुने बताएका हुन् ।

पछिल्लो समय सवोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चर्को आलोचनामा फसेका छन् । भागबण्डा र लाभहानिका हिसाबले काम गरेको आरोप उनीमाथि लागिरहेका बेला अध्यक्ष ओलीले यस्ता विकृतिप्रति न्यायाधीश, नेपाल बार तथा सर्वोच्च बारले ध्यान दिन आवश्यक रहेको समेत बताए ।

‘अदालतलाई बद्नाम र बेइज्जत गर्ने काम गर्नु हुँदैन । अदालतप्रति जनताको विश्वास उठ्ने काम नहोस्,’ ओलीले भने, ‘बेलैमा अदालतलाई मर्यादित, विश्वनीय र निष्पक्ष बनाऔँ । यसमा न्यायाधीश, नेपाल बार, सर्वोच्च बारले समेत ध्यान दिनु जरुरी छ । दल विशेषको गुटबन्दी, लेनदेनको सेटिङमा बार मुछिनु हुँदैन ।’

उनले सबैतिर तमासा भइरहेको भन्दै यसबाट मुलुकलाई निकास दिन एमालेले मात्र गर्न सक्ने उनको दाबी थियो । वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै उनले आफूहरुले थालनी गरेका विकास निर्माणका कामहरु यस सरकारले रोकेको भन्दै तिक्तता व्यक्त गरे ।

यसैगरी, सभामुखको भूमिका समेत पूर्वाग्रही रहेको भन्दै अध्यक्ष ओलीले एमालेको विरुद्धको षडयन्त्रमा उनी खुलेआम सरिक भएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV