९ कार्तिक २०७८, मंगलवार

फिदिम । नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । हाल मुलुकका अधिकांस जिल्लाका पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकि जिल्लाको पालिकामा पनि चाँडै अधिवेशन गर्ने काँग्रेसको तयारी छ । त्यसपछि जिल्लास्तरको अधिवेशन गर्ने काँग्रेसको तयारी छ । मुलुकभरका ७७ जिल्लामै नयाँ कार्यसमिति चयन हुनेछन् । यसै सन्दर्भमा नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरको १४ औं जिल्ला अधिवेशनको सभापतिका उम्मेदवार रुपनारायण जवेगुसँग कृष्ण कन्दङ्वा लिम्बूले गरेको कुराकानीको सम्पादित सार :

१, पाँचथर जिल्ला काँग्रेस सभापतिमा तपाइँको उम्मेदवारी छ, भाेटरले तपाईँलाई नै किन जिताउने ?

मैले ३५ वर्ष नेपाली काँग्रेसको राजनीति गर्दै गर्दा २ चोटीसम्म शिक्षक युनियन पाँचथरको अध्यक्ष भएँ । राजनीतिको यतिको लामो दौरानमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको निर्वाचित जिल्ला सदस्य र सचिवको छु । पार्टीको संगठन र काँग्रेसको व्यानरबाट बिकास निर्माण र जनताको सेवा गर्दै गर्दा अब मेरा जाने ठाउँ जिल्ला सभापतिमा नै हो भन्ने मलाइ लाग्छ । मैले उम्मेदवारी दिँदै गर्दा जिल्लाको सिंगो नेपाली काँग्रेसका नेता-कार्यकर्ताको भविष्य निर्माण गर्नुसँग पनि जोडिएको छ ।

नेतृत्वको लागि उम्मेदवारी दिँदै गर्दा पाएको अवसर सँगसँगै आएको चुनौतीहरुलाई व्यवस्थापन गर्न सक्छु जस्तो लाग्छ मलाई । उक्त आत्मविश्वासकै कारण पनि मेरो सभापतिमा उम्मेदवारी हो ।

२, यदि तपाइँ सभापतिमा निर्वाचित हुनुभयो भने नेपाली काँग्रेस पाँचथरको नेतृत्वलाई कसरी हाँक्नु हुनेछ ?

यदि जिल्ला सभापतिमा निर्वाचित भएँ भने नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको मैले एक्लै चलाउने हैन । त्यसकारण हाम्रो टीमले जिल्लामा काँग्रेसको जति पनि खाडल छ, जुन गुटउपगुटको छ, त्यो खाडललाई पुरेर जानेछाैँ । अग्रजलाई सम्मान र युवालाई क्रियाशील बनाएर पार्टीका भातृ संगठनहरुलाई चलायमान बनाएर भावनात्मक एकता कायम गराएर एकले अर्कालाई सम्मान गरेर अस्तित्व स्वीकार्य हुने पक्षलाई वृद्धि गराएर पार्टीलाई सांगठनिक रुपमा बलियो बनाउने मेरो चाहना छ ।

३, नेपाली काँग्रेस केन्द्रमा गुटगत स्वार्थमा लिप्त भएको पार्टी भनिँदै आएको छ । यसको प्रभावलाई जिल्लामा कसरी व्यवस्थापन गर्नुहुन्छ, तपाइँले नेतृत्व पाएको खण्डमा ?

आग्रह, पूर्वाग्रह र निषेधको राजनीति गरिएन भने, एकले अर्काको भावनाको सम्मान गरेर अस्तित्व स्वीकार गरेर, विधि प्रक्रिया र सिष्टममा पार्टीलाई नीतिगत रुपले हाँक्दै जाने हो भने र अग्रजलाई सम्मान र युवालाई क्रियाशील बनाउँदै लगेर उत्साहित बनाउँदै सुभेच्छुक संस्थाहरु भातृ संगठनहरुलाई प्राथमिकता दिएर लगियो भने विधि र प्रकियामा जान्छ र व्यवस्थित हुन्छ भन्ने मलाई लाग्छ ।

नेता अभिभावक हो । हाम्रो जिल्लाको हकमा केन्द्रीय सदस्य अभिभावक हो । जिल्ला सभापति अभिभावक हो । जुनसुकै गुटबाट आएपनि जुनसुकै गुटबाट आफूबिरुद्ध आएको कार्यकर्तालाई सहज रुपमा समेटेर सम्हालेर पारदर्शी निर्णय गरेर लाने योजना छ ।

४, पाँचथर जिल्लाको हकमा तपाइँ कुनै गुटमा खुल्नुभएको छैन भन्ने आएको छ । खासमा तपाइँ कुन पक्षको नेता हो- संस्थापन, संस्थापनइतर या अन्य कुनै ?

नेपाली काँग्रेसको विभिन्न संगठनहरु आउँदै गर्दा ३५ वर्षअघि पनि हामी संस्थापन पक्षमै थियौँ । तर कालखण्डमा पार्टी एक हुँदै गर्दा पार्टीबाट जो निर्वाचित भएर आउनुहुन्छ । केन्द्रीय सभापति उसैलाई नै मानेर जाने, जिल्ला सभापति उसैलाई मानेर जाने हो । त्यसकारण पार्टीमा गुट उपगुट हुनुहुन्न भन्ने मेरोे मान्यता हो । यसले पार्टीको संगठनहरु कमजोर पार्छ । त्यसकारण गुट-उपगुटमा लागियो भने कार्यकर्तामा मनोवल गिरेर जानसक्छ । त्यसकारण त्यो गर्नु हुन्न भन्ने हो । तर परिस्थिती अनुसार हामीले मुलुकमा मुलुकमा राष्ट्रिय महाधिवेशन हुँदै गर्दा देशलाई सवल र सक्षम तरिकाले नेतृत्व गरेर मुलुकलाई निकास दिन सक्ने खालको नेता छान्नुपर्नेहुन्छ । म विगतमा संस्थापन पक्षमा थिएँ । तर संथापन पक्षमै रहँदै गर्दा पनि भोलि हामीले कालखण्डमा नेता छान्नुपर्दा गुट उपगुट हेरेर छान्दिन । परिस्थिति अनुसार जहाँ पनि जान सकिनछ । तर नेता राम्रो हुनुपर्यो ।

५, गुटगत राजनीति रहेको भनिएको काँग्रेसको केन्द्रीय नेतृत्वलाई तपाइँको सुझाव के छ ?

सबै पार्टीमा गुटको राजनीति त हुँदोरहेछ । हामी हेर्दै आयौँ, बुझ्दै आयौँ । पञ्चायतको केही अंश र बहुदलीय प्रजातन्त्र प्राप्तिपछि सबैको राजनीति हेर्दै आएको छु। गुटको राजनीति गर्दै गर्दा गुटको कारणले संस्थागत संगठनमा आँच पर्ने काम कुनै नेताले गर्नु हुन्न । गुटको राजनीतिकै कारणले आग्रह पूर्वाग्रह आकांक्षा महत्वकांक्षाको कारणले पार्टीको संगठनमा आँच कसैले गर्यो भने कसैलाई क्षम्य हुँदैन । हिजोसम्म कसैले बुझेका थिएनन् । तर आजको दुनियाँमा सबैले बुझ्नु भएको छ । त्यस कारण कुन नेता कस्ता हुन कार्यकर्तालाई थाहा छ । अब कसैलाई रबरस्ट्याम्पका रुपमा बुझाइ बस्नु पर्दैन भनेर भन्न चाहन्छु ।

६, पाँचथरको विकासमा काँग्रेसको सम्झनलायक योगदान अर्थात् भूमिकाबारे चर्चा गर्नुपर्दा के भन्नुहुन्छ ?

जिल्लामा काँग्रेसले गरेका सम्झन लायक धेरै कामहरु रहेका छन् । हामी गर्भका साथ भन्न सक्छौँ । काँग्रेसले लामो समयसम्म मुलुकको सर्वसत्ता नेतृत्व गर्दैगर्दा तत्कालीन मन्त्री पूर्णकुमार शेर्मा ज्युले सडक र पुलको लागि धेरै ठूलो योगदान दिनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेस सम्बद्ध जिल्लाका अग्रज नेता ज्यूहरुले पाँचथरको बिकासमा धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँहरुले राष्ट्रिय स्तरमा कोर्नुभएको खाकालाई राज्यले निरन्तरता दिइरकेको अवस्था छ । जिल्लाको सडक, शिक्षा र कृषि क्षेत्रमा काँग्रेसको भूमिका र योगदान रहको छ । अन्य दलले पनि नगरेको भने हैन । तर जिल्लाको विकासको जग नै काँग्रेसले राखेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV