८ कार्तिक २०७८, सोमबार

विराटनगर । चर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद सजायसहित मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

सोमबार जिल्ला अदालत मोरङले मुख्य अभियुक्त गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने सजाय फैसला सुनाएको हो ।

मुद्दा दर्ता भएदेखि फैसला सुनाइएको आजको मितिसम्म दैनिक एक सयका दरले हिसाब गर्दा जम्मा १३ लाख ११ हजार रुपैयाँ गोरेबाट सनम शाक्यको परिवारलाई क्षतिपूर्ति भराउने फैसला भएको छ ।

यसअघि गोरेसहितले अन्यले जन्मकैद सजाय पाइसकेका छन् । यस मुद्धामा गोरेको सजाय जोडिने छैन । दुवै सजाय छुट्टाछुट्टै हेरिएको छ ।

गत असोज १९ गते साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीले जिल्ला अदालत मोरङबाट सफाइ पाएका थिए । तर, फरार २१ जनाको मुद्दा भने मुल्तबीमा नै राखिएको छ ।

२०७४ माघ ९ गते तस्करीको साढे ३३ किलो सुन हराएको थियो । त्यसपछि सरकार पक्षले हराएको सुन खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV