८ कार्तिक २०७८, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच भेटघाटसँगै ७ बुँदे छलफल भएको छ ।

सोमबार भएको छलफलमा रिक्त राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचन र स्थानीय तहको
निर्वाचनबारे छलफल भएको छ ।

छलफलको पहिलो बुँदामा राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यको निर्वाचन मिति तोक्नेदेखि भनिएको छ । छलफलमा आयोगका पदाधिकारीले माघको पहिलो साताभित्र राष्ट्रिय सभाको निर्वाचन गर्ने प्रस्ताव राखेका छन् ।

कानुनी व्यवस्थाअनुसार राष्ट्रिय सभाका सदस्यको निर्वाचन पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिनिधिसभाका ४ र प्रदेशसभाका १८ पद रिक्तबारे उपनिर्वाचन गर्न पनि छलफल भएको छ । छलफलमा निर्वाचनसम्बन्धी कानुनहरुको संशोधन र सुधार गरी एकीकृत निर्वाचन कानुनसम्बन्धमा पनि छलफल गरिएको छ ।

छलफलमा निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस पनि गरेको छ ।

आगामी जेठ ५ मा स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल सकिँन लागेको छ । कानुनअनुसार म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने हुन्छ र त्यहीँबमोजिम आयोगले स्थानीय तहमा निर्वाचन गर्न सिफारिस गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV