८ कार्तिक २०७८, सोमबार
  • बाल बिक्रम कार्की

रौतहट । संघीयतासँगै देशमा अहिले तीन तहको सरकार बनेपनि बेमौसमी वर्षाबाट पीडित किसानलाई कसैले वास्ता नगरेको भन्दै किसानहरु आक्रोशित बन्न थालेका छन् । देशमा जतिसुकै तहको सरकार भएपनि किसानहरु पीडामा पर्दा बोलिदिने , उनीहरुलाई अल्पकालिन र दिर्घकालिन राहत एवम् क्षतिपूर्तिको व्यवस्था नगरेकोमा किसानहरु आक्रोश व्यक्त गर्न थालेका छन् ।

देशका अन्य भागहरुमा जस्तै रौतहटमा किसानहरुको पनि काँटेर भित्र्याउन तयार रहेको धान डुबानमा परेको छ । काटेको धेरैदिन खेतमै डुबेर बसेकाले धान उम्रिन थालेको छ । राम्रो धान उब्जाउ होला, वर्षभरी खाउँला अनि उब्रिएको बचेर घरखर्च चलाउँला भन्ने किसानहरुको आशमा तुषारोपात लागेको छ ।

धानको अवस्था हेर्दा मान्छेलाई खान धान होइन वस्तुलाई खुवाउन पराल पनि नआउने अवस्था छ । पानीमा डुबेका थान फेदै सहित कुहिन थालेको छ । किसानहरु खेतमा उम्रिएको धान हेरेर टोलाउँछन् अनि अब के खाने, घरखर्च कसरी धान्ने चिन्ता गर्छन् । उनीहरु केही हुन्छ कि भनेर उनीहरु उम्रिएकै धान बारीबाट उठाएरहेका छन् ।

किसानको संकटमा सरकार भने तमासा हेरेको भन्दै किसानहरु सरकारको आलोचना गर्न थालेका छन् । ‘हामीलाई राहत दिने सरकार आफै भागवण्डामा व्यस्त छ’ स्थानीय किसान भिमसेन केसीले आक्रोशित हुँदै भने , ‘यहाँ किसानको कसैलाई वास्ता छैन् । जे गरेपनि मर्ने त किसान नै हुन् ।’

जेतजेत सुकाउँदै मिल्नेसम्म थ्रेसर लगाएर झारिरहेका छन् । तर यसरी झारेको धान केवल चित्त बुझाउने बाटो मात्र भएको छ किसानहरुको । थे्रसर लगाएर झारिएको धान न खान मिल्छ , न बेच्ननै । आफ्नो लगानी पनि नउठ्ने भएपछि किसानहरु धान उत्पादन गर्दा लागेको रिन कसरी तिर्ने होला चिन्ता गर्दैछन् । आफुहरु यस्तो पिडाको अवस्थामा हुँदा सरकारले केही गरिदिए हुन्थ्यो भन्ने झिनो आशा भने उनीहरुलाई छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा आफ्ना केही मन्त्रीहरु लिएर लाखौँ खर्च गरेर पिडित किसान भेट्न गएको भनिएपनि वास्तविक पिडित नभेटि फर्कन्छन् । सरकार किसानको पिडामा मलम लगाउने भन्दापनि भागवण्डामै रमाइरहेको किसानहरुको आक्रोश छ । उनीहरु भन्छन् ‘सरकारलाई त पुगेको छैन् , हामीलाई के देलान् ?’

वर्षदिन खाने अन्न डुबेर नाश भएपछि के खाने भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ । यसरी दुःख गरेर वर्षभरी खाने अन्न जोहो गर्न लागेका किसानहको जीवनमा वेमौसमी वर्षाले ब्रजपात गरिदिएको छ । वर्षभरी खाने अन्न डुबेपछि अब आफु के खाने र परिवारलाई के खुवाउने चिन्ताले चन्द्रपुर २ कि किसान दुर्गादेवीलाई सताउन लागेको छ । उनको १५ कठ्ठामा लगाएको धान भित्र्याउन नपाउँदै डुबेर नाश भएको छ ।

यहाँका किसानहरुले आफ्नो धान पानीमा डुबिरहँदा कोही पनि जनप्रतिनिधि फर्केर पनि नआएकोमा चित्त दुखाएका छन् । भोट माग्ने बेला घरघर हात जोडेर आउने नेताहरु आफुहरुको धान बारीमा उम्रिदासम्म पनि फर्केर भेट्न नआएको किसानहरुको गुनासो छ ।

नेताहरुले खेतमै आएर किसानको पिडामा मलम लगाउनुपर्नेमा फेसबुकमा किसानको पिडामा दुःख व्यक्त गर्दछुँ भन्दै लेखेर झारो टारेको उनीहरुको आरोप छ । किसानहरुलाई जहिल्यै मर्ने राज्यले उपेक्षा गर्ने गरेको अर्का किसान तेज प्रसाद पाँडेलेले गुनासो गर्नुभयो । ‘रोप्ने बेलाको लागि सिचाइँ छैन् , रोपिसकेपछि मलखाद छैन्’ उहाँको गुनासो थियो , ‘जेततेन दुःख , सुख गरेर हुर्काएको बाली भित्र्याउन पनि पाइएन । किसानको समस्यामा राज्य जहिलेपनि कानमा तेल हालेर बसिरहेको हुन्छ ।’

तीन तहको सरकार मध्ये सबैभन्दा नजिक रहेको स्थानिय सरकारले पनि किसानको पीडामा कुनै चासो नदेखाएको रौतहटका किसानहरुको गुनासो छ । गाँउगाँउमा सिंहदरबार भनेर चिनिने स्थानिय सरकारका जनप्रतिनिधिहरु क्षतिको अवलोकन पनि गर्न नआएको उनीहरुको भनाइ छ । अरुको भोक टार्ने किसानहरु आज आफै भोकभोकै पर्ने अवस्थामा पुग्दा पनि सरकारले अल्पकालिन तथा दिर्घकालिन राहत एवम् क्षतिपूर्तिको व्यवस्था गर्नमा ढिलाइ गर्न नहुने किसानहरुको माग छ ।

सरकारले उनीहरुलाई केवल आश्वसन मात्र होइन देखिने गरि तत्काल राहत तथा क्षतिपुर्ति दिनुपर्ने अर्का किसान रण बहादुर अधिकारी बताउँछन् । आगामि दिनहरुमा पनि आउन सक्ने यस्ता समस्याहरुको दिर्घकालिन समाधानको लागि तीनै तहका सरकारहरुले योजना ल्याउनपर्ने उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र रौतहटको अनुमानित तथ्याङ्क अनुसार जिल्लामा १ हजार १३० हेक्टर जमिनमा लगाएको धान बाली पानीले किसानले काटिसकेपछि नष्ट भएको छ भने १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीले झारेर काट्न नपाउँदै कामै नलाग्ने अवस्थामा पु¥याएको छ । त्यसैगरी नपसाएको ८ सय २५ हेक्टर जमिनमा लागएको धान पनि पुर्ण नोक्सान भएको छ । जिल्लामा ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा यसपाली धान खेती गरिएको थियो । केन्द्रको तथ्याङ्क अनुसार कुल ८।१८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV