
काठमाडौं । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ।
अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।
फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको छ । खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ ।
फाइजर खोप नेपाल आएको पहिलोपटक हो । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।