८ कार्तिक २०७८, सोमबार

काठमाडौं । पदीय जिम्मेवारीअनुरूप काम नगरेको भन्दै गृह मन्त्रालय मातहतका दुई सुरक्षा निकाय प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखहरूमाथि ‘एक्सन’ लिएका छन् ।

पदीय जिम्मेवारीअनुरूप काम नगर्दा संगठनको साख नै गिरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले दुई जिल्ला प्रमुख र सशस्त्र प्रहरी मुख्यालयले एक जिल्ला प्रमुखमाथि ‘कारबाही’ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरूप प्रदेश दुईका दुई जिल्ला धनुषा र सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) परिवर्तन गरेको छ । धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोषसिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यी दुवै एसपीको काज सरुवा गरिएको हो ।

प्रहरी प्रधान कर्यालयले धनुषामा रानाभाटको ठाउँमा एसपी वसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाईंलाई पठाउने भएको छ । रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाईं प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत छन् ।

यस्तै, सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सर्लाहीस्थित १० नम्बर गणका प्रमुख एसपी गंगाराम श्रेष्ठलाई गणको प्रमुखबाट हटाएर प्रदेश ३ गढीमाई बाहिनीमा कार्यरत एसपी भरत खनियाँलाई गणको जिम्मेवारी सुम्पेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

LIVE TV