७ कार्तिक २०७८, आईतवार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा भोलिदेखि सुरु हुने छैटौं श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागिता जनाउन दुबई प्रस्थान गरेको छ ।

कात्तिक ८ देखि १२ गतेसम्म (२५–२९ अक्टोवर) दुबईमा हुने डाइलगमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव थानेश्वर भुसाल दुबई प्रस्थान गरेका हुन् ।

मन्त्री श्रेष्ठसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मन्त्रालयका अधिकारीहरुले विदाइ गरेका थिए ।

श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए ।

‘आबुधाबी डायलग’ मा १६ देशका श्रममन्त्री सहभागि हुनुहुने छन् भने ४ देश परिवेक्षकका रुपमा सहभागी हुने छन् । साथै अन्तरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले पनि डायलगमा भाग लिनेछन् ।

विमानस्थलको श्रम डेस्कको अनुगमन
आबुधी प्रस्थान गर्नुअघि मन्त्री श्रेष्ठले विमानस्थलको श्रम डेस्कको अनुगमनसँगै सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

विमानस्थल परिसरमा राखिएको कोरोना द्रुत परीक्षण स्थलको समेत अनुगमन गरेका मन्त्री श्रेष्ठले अध्यागमन‚ भन्सार‚ श्रम डेस्क‚ सुरक्षा लगायतका बिषयमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न र सेवा प्रवाहमा सुधार ल्याउन विमानस्थलमा कार्यरत सबै निकायहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV