७ कार्तिक २०७८, आईतवार

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई न्यायालय सुधार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

आइतबार बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरासँग भेट गर्ने क्रममा अध्यक्ष श्रेष्ठले बार र न्यायपालिका मिलेर जानुपर्ने बताउँदै न्यायालयमा सुधार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

अध्यक्ष श्रेष्ठले भने, ‘न्यायालय सुधारको काम नभए पछिल्लो कदम बहिष्कारसम्म पनि हुनसक्छ । तर अहिलेनै त्यसबारेमा केही भनिहाल्न सकिँदैन ।’

भेटमा भने प्रधानन्यायाधीश जबराले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्ने बताएको पनि अध्यक्ष श्रेष्ठको भनाइ छ ।

छलफलमा मंगलबारदेखि गोला प्रथाबाट सर्वाेच्च अदालतमा पेशी तोक्ने निर्णय पनि गरिएको छ ।

हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन अनुसार बारले आइतबार प्रधानन्यायाधीश जबरालाई भेटघाट गरेको थियो ।

यसअघि प्रतिवेदन कार्यान्वयनका लागि प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV