७ कार्तिक २०७८, आईतवार
  • बाल बिक्रम कार्की

रौतहट । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन खोजेपनि ठाकुर केपी शर्मा ओलीको पियन बनेको टिप्पणी गर्नुभएको छ ।

शनिबार रौतहटको सुकदेव चौकमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ठाकुर जसपाको सरकार बनाउबाट पछि हटेर प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘महन्थ जीसँग सल्लाह गरेर हामीले हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउँछौँ भनेर लिखित वक्तव्य पनि निकाल्यौँ, तर वक्तव्य निकालेको केही घण्टामै ठाकुर जी मबाट हुँदैन् , मैले निकै गालि खानुप¥यो भन्दै पछि हट्नुभयो ।’

ठाकुर मधेश र मधेसीको दायित्वबाट पछि हटेको नेता यादवको भनाइ थियो । उहाँले भन्नुभयो, ‘ हामीले त उनलाई पिएम बनाउन अगाडि बढाएका थियौँ तर उनी त केपी ओलीको पियन बने त म के गरुँ ? उहाँ मधेश र मधेसीको दायित्वबाट पछि हटेर ओलीको पछिपछि लाग्नुभयो।’

अध्यक्ष यादवले संसदीय प्रणाली रहेसम्म देश र जनताको हित नहुने बताउनुभयो । यो प्रणाली तलदेखि माथिसम्म खसीबाख्रा खरिद बिक्री गर्नेजस्तो भएकाले यसलाई हटाएर सिधैँ जनताबाट निर्वाचित कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको निर्वाचन प्रणाली निकै महँगो हुँदै गएको र यसलाई परिवर्तन गरेर पूर्ण समानुपातिक प्रणालीको निर्वाचन प्रणाली हुनुपर्ने बताउनुभयो ।

‘विद्यालय व्यवस्थापन समितिको चुनावमा त लाखौँ खर्च हुनथालिसक्यो’ उहाँले भन्नुभयो, ‘पालिका, प्रदेश र संघिय चुनावमा त कति खर्च हुन्छ । यही प्रणाली रहिरहने हो भने इमान्दार व्यक्तिभन्दा पैसावाला व्यक्ति मात्र चुनाव उठ्ने र जित्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV