
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लन्डन क्लब चेल्सीले शनिबार नर्विच सिटीविरुद्ध शानदार जित निकालेको छ । मासन माउन्टको ह्याट्रिकमा चेल्सीले नर्विच सिटीविरुद्ध ७–० को फराकिलो जित हासिल गरेको हो ।
खेलमा माउन्टले ह्याट्रिक गर्दा कलुम हड्सन ओडोई, रिस जेम्स र बेन चिलवेलले समान एक गोल गरेका थिए भने नर्विच सिटीले एक गोल आत्मघाती गोल गरेको थियो ।
चेल्सीले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल थपेको थियो । चेल्सीले खेलको ८ औँ मिनेटमा माउन्टको गोलबाट अग्रता लिएको थियो । माउन्टले जर्गिन्होको पासमा गोल गर्न सफल भएका थिए ।
१८औं मिनेटमा माटियो कोभासिसको पासमा ओडोईले गोल गरे । ४२औं मिनेटमा जेम्सले माउन्टको पासमा गोल गरे । पहिलो हाफमा ३–० मा सीमित रहेको चेल्सीले दोस्रो हाफमा ४ गोल गर्यो ।
दोस्रो हाफको ५७औं मिनेटमा चिलवेलले माटियो कोभासिसको पासमा गोल गर्दै चेल्सीलाई ४–० ले अघि बढाए ।
६२औं मिनेटमा नर्विच सिटीका म्याक्स आरोन्सले आत्मघाती गोल गरे । आत्मघाती गोलसँगै चेल्सी ५–० का साथ अघि बढ्यो ।
तैपनि गोलको वर्षा रोकिएन । ६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा सीमित हुन पुग्यो । खेलेका ८४औं मिनेटमा माउन्टले पेनाल्टी चुकाएपनि रि पेनाल्टीमा गोल गरे ।
खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा माउन्टले रुवेन लफट्स चिकको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।
नर्विच सिटीसँगको जितसँगै चेल्सी ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थान बनाउन सफल भएको छ । चेल्सीसँग पराजित नर्विच २ अंकका साथ खेलको पुछारमा रहेको छ ।