६ कार्तिक २०७८, शनिबार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा) । प्रदेश २ का उर्जामन्त्री ओमप्रकाश शर्माले महिला उद्यमीहरुको प्रोत्साहनका लागि नेपाल सरकारले ठोस नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । लेडिज सर्कल नेपालको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च वीरगन्जले होटल भिस्वामा आयोजना गरेको ‘नेपाली महिला उद्यमी सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री शर्माले मुलुकमा केही गर्न चाहने महिलाहरुलाई प्रोत्साहन गर्नका निम्ति सरकारले ठोस नीति ल्याउनुपर्ने माग गरे ।

मुलुकमा धेरै महिलाहरु छन्, जसले आफ्नो खुट्टामा आफै उभिन सक्छन्, केही उत्पादन गर्न सक्छन् तर त्यस्ता महिलाहरुलाई प्रोत्साहन गर्नका लागि नेपाल सरकारले हालसम्म बजेट पनि छुट्याउने नगरेको प्रति दुःखेसो पोख्दै मन्त्री शर्माले प्रदेश सरकारले महिला उद्यमीहरुको लागि केही मात्रामा बजेट छुट्याएपनि उक्त बजेटको सदुपयोग पनि हुन नसकेको बताए । महिला उद्यमीहरुको प्रोत्साहन एवं तिनीहरुले शुरुवात गर्ने कुनैपनि व्यवसाय संचालन गर्दा प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शर्माले उर्जामन्त्रीको हैसियतले शर्मा महिलाले कुनै पनि उद्योग खोल्दा त्यसमा आवश्यक पर्ने विजुली बत्ती निःशुल्क जडान गर्ने घोषणा समेत गरे । साथै आफ्नो मातहतको मन्त्रालयबाट पाउनुपर्ने सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मुलुकमा महिलाहरु आफै केही व्यवसाय शुरु गर्न चाहेपनि तिनीहरुलाई पुरुषले गर्न नदिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको शर्माले बताए ।यसैगरि कार्यक्रममा सहभागी वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले महिला उद्यमीहरुको लागि यो सम्मेलन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

वर्तमान अवस्थामा महिलाहरु देशको राष्ट्रपतिदेखि विभिन्न सरकारी निकायमा महिलाहरुको सहभागिता बढिरहेको बेला महिलाहरु घरको मात्रै काम गर्न सक्ने मनसायलाई हटाई उद्योग व्यापार क्षेत्रमा पनि महिलाहरुको सहभागिता बढाउनुपर्ने बताए ।

यसरी नै सम्मेलन आयोजक सँस्थाका अध्यक्ष अनुप अग्रवालले घरमा बसेका महिलाहरुले उद्योग क्षेत्रमा गर्न सक्ने परिवर्तनलाई मध्यनजर राख्दै यस सम्मेलनको आयोजना गरिएको बताए । धेरै महिलाहरुसँग विभिन्न प्रकारका सीपहरु हुन्छन् तर ति महिलाहरु घरमै बसेका हुन्छन्, त्यस्ता महिलाहरुको सीपलाई बाहिर ल्याई त्यसलाई व्यवसायको रुपमा परिवर्तन गरि महिलाहरुले मुलुकको लागि केही गर्न सक्ने बनाउने यस सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

सम्मेलनमा सहभागी करिब २ सय महिलाहरुलाई प्रशिक्षक इच्छा मल्ल सहित ६ जनाले प्रशिक्षण प्रदान गरेकी थिइन् । सम्मेलनमा महिलाहरुले आफैले उत्पादन गरेका विभिन्न प्रकारका खाद्य पदार्थ देखि कपडा तथा गिफ्टका सामानहरुको प्रदर्शन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV