६ कार्तिक २०७८, शनिबार
  • विकास पाैडेल

चितवन । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्दै अस्पतालमा तोडफोड गर्ने एकजना पक्राउ परेका छन् । चितवनको रत्ननगर बकुलहर अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार, सुरक्षागार्डमाथि हातपात तथा अस्पतालका सिसा तोडफोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरीले रत्ननगर नगरपालिका वडा नम्बर ५ निवासी ३१ वर्षीय किरण कुवँरलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । चारजना युवाहरुले डियुटीमा रहेका स्वास्थ्यकर्मीलाई अपशब्द बोल्दै गाली-गलौज गर्नुका साथै सुरक्षा गार्डमाथि हातपात गरेका थिए । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने मुख्य नाइके नै कुवँर रहेको प्रहरीले जनाएको छ ।

उक्त समूहका अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

घटना हुनुअघि हातको औँलामा सामान्य चोट भएकाले कुवँर आफ्ना साथीहरुसँग अस्पताल पुगेका थिए । अस्पताल जाँदा अाकस्मिक कक्षमा टाउकोमा चोट भएका अर्को बिरामी आएपछि स्वास्थ्यकर्मीले हातको चोट सामान्य भएको भन्दै कुँवरलाई एकैछिन प्रतीक्षा गर्न आग्रह गरेका थिए । तर उनको समूहले गालीगलौज गर्दै हातपात र तोडफोडमा उत्रिएकाे अस्पतालका सुरक्षा गार्ड टेकबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV