५ कार्तिक २०७८, शुक्रबार

जनकपुरधाम । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता १७ कार्यकर्तालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

बिहीबार जनकपुरबाट सरुवा भएर अर्घाखाँची जानुअघि बिदाइ कार्यक्रममा पसेर जनमत पार्टीका कार्यकर्ताले तोडफोड र प्रमुख कुशवाहलाई हिलो छ्यापेर अर्धनग्न बनाएर बजार परिक्रमा गराएका थिए ।

प्रहरीले उनीमाथि दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाह, सर्लाही जिल्लाका सदस्य दुर्योधन यादव, प्रेमकिशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादवसहित १७ जनाविरुद्ध एक हप्ता हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

यदि, अभियोग पुष्टि भएमा उनीहरुलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ । उता, जनमत पार्टीले भने कार्यकर्ता पक्राउ गरिएपछि प्रदर्शन जारी राखेको छ । पार्टीले जिल्ला प्रहरी कार्यालयबाहिर धर्ना दिँदै आएका छन् ।

उनीहरुले पक्राउ परेकाहरुलाई विना सर्त तुरुन्त रिहाइको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV