५ कार्तिक २०७८, शुक्रबार
  • रामगोपाल तमखु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको रानीपोखरी, सिद्धपोखरी र भाजुपोखरीको स्थलगत निरीक्षण
गर्नुभएको छ ।

निरीक्षणका क्रममा भक्तपुर नगरपालिकाले संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको रानीपोखरीलाई पुनः जीवन दिई सराहनीय कार्य गरेको बताउनुभयो ।

अध्यक्ष रोहित र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति सहितको टोलीले काठमाडौंको रानीपोखरी भन्दा चालीस वर्ष अघि बनेको इतिहास बोकेको भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको हो ।

अध्यक्ष बिजुक्छेँले भक्तपुर जस्तो प्राचीन शहरहरूमा पोखरीको महत्व धेरै भएको बताउनु भयो । सभ्यताको विकास र महत्वबारे बुझ्न प्राचीन सम्पदाहरूको विशेष स्थान रहने र त्यसको संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष बिजुक्छेंले विदेशी सहयोग र अरुको भरमा गर्ने विकास निर्माणका कार्य दीगो नहुने पनि बताउनुभयो । भक्तपुर नपाले आफ्नै पहल र अगुवाईमा स्वाभलम्बी भई सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गरी देशकै लागि उदाहरणीय कार्य गरेकोे पनि उहाँले बताउनुभयो ।

यो रानी पोखरी नेपाल संवत् १६८७ मा तत्कालीन राजा जगज्योर्ति मल्लको पालामा निर्माण भएको इतिहास छ । त्यसको डिलमा रहेको सत्तल पाटी एवम् प्रजापतिहरु देवालीस्थल भक्तपुरकै सांस्कृतिक एवम् ऐतिहासिक महत्वका सम्पदाहरूमध्ये पर्छन् । भक्तपुरको रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा चालीस वर्ष अघि बनेको इतिहास रहेको छ ।

सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको रानी पोखरी जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको र पोखरी परिसरमा सौन्दर्यीकरणको कामहरू भइरहेको बताउनुभयो । तीनवटा उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणको कार्य अगाडि बढिरहेको बताउनुहुँदै उहाँले पुनःनिर्माणको सम्पूर्ण कार्य छिटै सम्पन्न हुने र सर्वसाधारण जनताको निम्ति पोखरी खुल्ला हुने बताउनुभयो ।

उक्त पोखरी, ढोका र पाटी जीर्णोद्धारका लागि करिव ३ करोडको लागत ईस्तिमेट भएकोमा हालसम्म रु. २ करोड ७५ लाख बराबरको रकम खर्च भइसकेका नगर प्रमुख प्रजापतिले बताउँनु भयो ।

भक्तपुर नपाले उक्त पोखरीमा प्राप्त प्रमाणहरूको आधारमा मौलिक स्वरुपमै पोखरीको जीर्णोद्धार र निर्माण सम्पन्न गर्ने प्रमुख प्रजापतिले बताउँनु भयो । हाल उक्त पोखरी परिसरको दक्षिणतर्फ ह्वाङ ह्वाङ पाटी, पूर्व र उत्तरतर्फका प्रवेशद्वार र पाटीहरु निर्माण भइरहेको पनि जानकारी दिनु भयो ।

निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी सन्तोष कार्की, भनपा वडा न. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, पत्रकारहरु र उपभोक्ता समितिका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV