५ कार्तिक २०७८, शुक्रबार
  • नारायणकुमार घिमिरे

शक्तिको विशेषता र प्रयोग राम्रोसँग बुझेका नेताहरू यति भन्दिनुस्– शक्तिको आडमा कानुन र पद्धति तोड्ने हो ? कि या तपाईंले बुझेको कानुनले सर्वसाधारणलाई समस्या परेको छ भन्ने बुझेपछि तपाईंको शक्तिले कानुन परिवर्तन गर्ने हो ? नेताज्यू, सपना स्विजरलाण्डजस्तो विकशित र गतिशील देखाउने, चाइनाजस्तो आर्थिक विकासको देखाउने, अमेरिकाजस्तो शक्तिशाली देखाउने, अनि एक सर्वसाधारण मानिसले दैनिक जीवनका समस्या हल गर्न नेताको ढोका धाउनुपर्ने ? मेरो देशको पद्धति कनुन आज कुन ढोकामा छ ?

कुनै मुलुकमा नेताको भनसुन र चिनजानको आधारमा समस्या समाधान हुन्छ भने बुज्नुस्, नेताले कानुन–पद्धति स्थापित गरेनन्, लगेर आफ्नो कोटको खल्तीमा राखे । संविधान बनाएर देशलाई कानुनी राज्य बनाएनन् । पहँुचबिना सर्वसाधारणले राज्यको उपस्थितिको अनुभूति गर्न नपाउने हो भने तपाईंले ५० औँ वर्ष गरेको राजनीतिको फल के हो ? खोज्ने बेला आएको छ । म राजनीति गर्छु भन्दा एक सर्वसाधारणले नाक खुम्चयाउनुले स्थिति बनाइसक्नु भएको अनुभूति छ कि छैन ? कि अझै १५–२० जना कार्यकर्ता झुण्डको तारिफभित्र अल्मलिरहनुभएको छ ? तपाईंबाट फाइदा–घाटाको हिसाब गरेर नजिक रहने कार्यकर्ताको झुण्ड कति दिनसम्म जनता र देशको नाममा कुर्बान गरेर थेग्न सक्नुहुन्छ ? तपाईंले एउटा कार्यकर्ताको लागि माया र भनसुन गर्दा देश, कानुन र पद्धतिको खिल्ली उडिरहेको कतै अन्तरमनमा याद गर्नुभएको छ ?

आज प्रजातन्त्र आएको ३० वर्ष नाघिसकेको छ । गणतन्त्र आएको झनै १५ वर्ष भयो, कुन वर्गको कसले अनुभूति गर्यो कि राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रको फरक, आम सर्वसाधारण जनताको आँखाबाट कहिल्यै हेर्नुभएको छ ? मेरो निवास मेरो फोनबाट भनसुन घुस भ्रष्टाचार र चिनजानको नाताले तपाईको कार्य कुनै हुन्न भनेर कहिल्यै भन्नुभयो ? कुन कार्यालयले निस्पक्ष कार्य गरेन, कुन कार्यालयले कसको प्रभावभित्र बसेर कार्य गरिरएको छ ? कति भष्टाचार भरिएको छ ? त्यो मेरो कोठाबाट निराकरण हुन्छ भनेर जिम्मेवारी लिनुभयो ? भएन । कसको कारणले लिनुभएन ? कसरी यो देशमा पद्धति स्थापित होला ? यो व्यवहारबाट जनता र तपाईका निश्चित कार्यकर्ता समान होलान् ?

तपाई देशलाई दिशानिर्देश गर्ने नेता, तपाईको ढोकामा ३ करोड नेपालीले भनसुनका लागि आग्रह गरे भने तपाईंले कसलाई न्याय गर्नुहुन्छ ? राजनीतिले स्थापित गरेको राज्य को परिकल्पना यस्तै थियो ? नेताज्यू, हामी सावधान गराउँछौँ– यो राजनीतिक अभ्यास गलत छ । हाम्रो राज्य हामी देशको कानुनबाट चलाउन चाहन्छौँ । कोही आफन्ती कार्यकर्ता हुनुहुन्न, नेताले कानुन–पद्धति मिचेर काम गरिदिनुपर्ने । कोही जनता पराया हुनुहुन्न, पहुँच नभयर अवसरबाट वञ्चित भइदिनुपर्ने । राज्यले त्यो जिम्मेवारी बहन गर्नसक्ने बनाउनुभयो कि नाइँ ? अब यो अनुभूति दिलाउन राज्य सक्षम बनाउनै पर्छ । आब बाटो सच्याउने कि बाटो खाली गरिदिने नेताज्यू ??

चलयमान पुँजीले कि विकास गराउँछ कि समान आयस्रोत बढाउँछ । दुई वर्ष गाडी चढ्न ढिला गर्नुस्, दुई वर्ष घर बनाउन ढिला गर्नुस् फरक पर्दैन । एउटा पुस्ताको एउटा दशकको त्यागबिना देश बन्ने अवस्था देखिन्न ।

अस्पतालमा बेड पाउन वा मिलाउन नेता चाहिने, राम्रो विद्यालय पढ्न–पढाउन नेता चाहिने भयो । रोजगारी, स्वास्थ्य, शिक्षा, प्रशासनिक काम, ठेक्कापट्टा, व्यवसाय सबै नेताको खल्तीमा राखेर गणतन्त्र, जनताको राज्य आयो भन्ने ? नहरमा देश चलाएर अधोगतितिर धकेल्नु कतिसम्म लज्जास्पद कार्य हो ? अब हाम्रो पुस्ताले पद्धति फेर्न र कानुनी राज्यका लागि तपाईहरूसँग लड्नुपर्ने कि चाकडी गर्न आउनुपर्ने हो ?

देश बन्न–बनाउन पद्धतिको विकास हुनुपर्छ । शक्ति र पहुँचको आधारमा हुने कार्य प्रजातन्त्र विरोधी कार्य हो । प्रस्ट हुनुहोस् । नेता कहिल्यै पद्धति र कानुनबाहिर उभिनुहुन्न । पद्धति र कानुनमा समस्या छ भन्ने लग्छ भने परिवर्तन गर्ने हैसियत राख्नुपर्छ । ठिक ठाउँमा उभिनसक्ने नेता हुँदा, प्रशासन कर्मचारी राज्यका अंग र सर्वसाधारणले सहयोग गर्ने समझदारी सद्भावयुक्त वातावरण हुँदा राज्य परिवर्तन निकै छोटो समयमा पनि सम्भव छ । देशको पुँजी चलायमान रहनुपर्छ । कालो धन स्थिर पुँजी हो । भ्रष्टाचारमुक्त समाजले देशको पुँजी चलयमान बनाउँछ ।

चलयमान पुँजीले कि विकास गराउँछ कि समान आयस्रोत बढाउँछ । दुई वर्ष गाडी चढ्न ढिला गर्नुस्, दुई वर्ष घर बनाउन ढिला गर्नुस् फरक पर्दैन । एउटा पुस्ताको एउटा दशकको त्यागबिना देश बन्ने अवस्था देखिन्न । एउटा व्यापारी नेता समृद्ध व्यक्तिका सन्तान ५०% देशमा रहन्नन् वा चाहन्नन् । लाखौँ युवा विदेशमा श्रम बेचिरहेछन्, विकाशोन्मुख देशमा सबैभन्दा बेसी श्रमको आवश्यकता हुन्छ । हामी चुकेका छौँ । प्राविधिक जनशक्ति विदेसिएका छन्, डोजरे विकासको आतंक मात्र चलिरहेको छ ।

पद्धति र कानुनी राज्य स्थापित हुनु आगाडि विकशित र समृद्ध राज्यको सपना देख्नु अथवा देखाउनु भ्रम हो । हाम्रो आँखामा छारो हल्दैछन् । यो नेतृत्व तहले पद्धति स्थापित गरेन बरु विस्थापित बनायो कानुनी राज्यको परिकल्पनालाई । विकास र समृद्धिको सपना देखाएर पर्दा पछाडि शक्ति र कानुन मुट्ठीमा बटुलिरहेको यथार्थ बुझ्नुपर्छ । राज्य सीमित व्यक्तिको द्वारबाट सञ्चालित हुँदा सीमित व्यक्तिबाहेक देश राज्यको आनुभूति कमैले मात्र गरेका छन् ।

नेताज्यू, आसेपासेले आफ्नो फाइदामा देको सल्लाहको पछाडि नलाग्नुस् । यो व्यवस्था तपाईंहरूको कारणले फेल नहोस् । आँट गर्नुस्, यो संस्कार परिवर्तन गर्छु भनेर, कि त छाड्नुपर्छ तपाईंहरूले । गलत गर्नु अथवा गलत कार्यमा मौन बस्नु त्यो मुर्खताले देश, राज्य र नेताप्रति चौतर्फी वितृष्णा छ । हाम्रो पुस्ता कोइ न कोइ तयार छ अब यो राज्य सञ्चालान गर्न । यी तपाईंहरूका लागि सच्चिने आन्तिम वर्ष हुन सक्छन् ।

र, अन्त्यमा भन्दछु– नेताज्यू, सावधान बाटो गलत छ ! देशको विषयमा सोचौँ, नभए बिदा होऔँ !!

प्रतिक्रिया दिनुहोस्

LIVE TV