५ कार्तिक २०७८, शुक्रबार
  • महेश पौड्याल

गर्भवती हिमालहरूले हो जन्माएको
एउटा-एउटा अजम्मरी गण्डकी
प्यास मेट्टाउन शिशु धरतीको
सृष्टिको मुहानमा
कतिपटक काटे कति
पाइतालामा आकाश बोकेका गोडाहरूले
गण्डकीहरूलाई !

तर खोइ, कहाँ काटियो गण्डकी
काटिएसरि मुलुक, सिकन्दरहरूका तरबारको धारमा
कहाँ रोकियो लहरहरूको जीवन नाच ?

रोबर्ट फ्रोस्टले साँच्चै भनेका हुन्—
नदी पुर्नेहरूले नदीको ढुकढुकी कहिल्यै थुन्न सकेनन्
लेङ्स्टन ह्युजेले साँच्चै भनेका हुन्—
नदीजस्तै गहिरिएर गएको छ आदिवासीको आत्मा ।

कुनै कविले सोधेथे– आगो छोपेर कतिञ्जेल ?
थप्नुपर्छ एक अंश– पानी थुनेर कतिञ्जेल ?

इतिहासमा भन्न बाँकी केही कुरा छ—
हरेकपल्ट थुनिएका बाटा भत्काएर नदीहरू समुद्र पुगे
उठे, सगरमाथाको शिरमा हिउँ बनेर
झरे, समुद्रको गर्भसम्मै पानी बनेर
धरतीमा सबैभन्दा उँचो ठाउँमा पनि नदीकै अंश छ
धरतीमा सबैभन्दा होचो ठाउँमा पनि नदीकै त अंश छ ।

किनारका पत्थरहरूमाथि छालहरूका कोर्राले
आफ्नो समायातीत इतिहास लेखेर जाने नदीहरूमा
मान्छेको वजन पत्करहरूको जत्तिको पनि छैन
नदीले मान्छे निलेको इतिहास छ
नदीले मान्छे बचाएको इतिहास पनि छ
तर मान्छेले नदी निलेको इतिहास छैन
बचाएको इतिहास पनि छैन !

पानीको एउटा-एउटा थोपामा जीवन छ
भगीरथको
पानीको एउटा–एउटा थोपामा
शिरशौर्य छ शिवको
थोपाहरूको यस सीमाहीन समग्रतामा
एउटा–एउटा सभ्यताको प्राण छ
एउटा–एउटा आत्माको मोक्षपथ ।

यो जीवन, यो शौर्य
हत्केलाले थुनेर पौडी खेल्छु भन्नेहरूलाई
एउटै आग्रह छ समयको—
पत्थर खाएर आउनू, गह्रुँगो हुनु छ
आगो पिएर आउनू, तातो हुनु छ
नत्र, बगाउला नदीले/ नत्र, भिजाउला पानीले ।

आफू मेटिएर पनि अल्पदृष्टिको जंगलमा
साख जो बचाउनुछ मान्छेलाई
मान्छे हुनुको !
***

अहिले पवित्र कालीगण्डकी नदीमाथि भइरहेकाे अतिक्रमण तथा अन्धाधुन्ध दाेहनका विरूद्धमा ‘कालीगण्डकी बचाऔँ अभियान’ चलिरहेकाे छ । अभियानले चालेका विभिन्न कदममध्येकै “कालीगण्डकी नदी सप्तक श्रृङखला” (आन्दोलन कविता)  पनि एक हाे । यस अन्तरगत श्रृंखलाबद्ध रूपमा विभिन्न कविका कविताहरू अभियानले सार्वजनिक गरिरहेकाे छ, जसमध्येबाट केही छानिएका कविता हामीले पनि यहाँ राख्ने गरेका छाैँ । अभियन्ताकाे भनाइ छ-

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै । यो त आफैँमा जागरण पनि हो । चेत पहिल्याउने बाटो पनि हो । कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी । अर्को नदी अर्थात् कालीगण्डकी । यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले ।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी । ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन् । पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो । यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ । स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ । नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन् ।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ । नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ । यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको हाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV