४ कार्तिक २०७८, बिहीबार

काठमाडौं । खेलाडीको विदाईका लागि आयोजित कार्यक्रममा खेलाडी नै नआएपछि बिहीबार काठमाडौंको एक कार्यक्रममा खलबली नै मच्चियो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा विश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहीबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्ग संघलाई पत्राचार समेत गरेपनि अन्तमा खेलाडीहरुको उपस्थिति भने रहेन ।

खेलाडी अनुपस्थित रहेता पनि कार्यक्रम भने सञ्चालन गरिएको थियो । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको बताए ।

उनले खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना ब्यक्त गरे । उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा समेत गरे । जस्तै प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।

उनले खेलाडीहरु अनुपस्थिति रहेता पनि उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने ४ खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक (ट्रायकसुट) संघका केन्द्रीय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गरे ।

कार्यक्रममा अध्यक्ष गुरुङ्गले संघले खेल भावनाविरुद्ध कार्य गरेको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघ यस कार्यको घोर आपत्ति ब्यक्त गर्ने पनि बताए । यस्ता कार्यकाविरुद्ध सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै कारवाहीको लागि अग्रसर रहने बताए । उनले आफु पनि नेपाल बक्सिङ्ग संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कार्यहरु गरेका कारण संघका पदाधिकारीहरुबीच पनि बैमनस्यता देखिएको बताए ।

कार्यक्रममा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवि भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको र संघलाई खेल भावनाले अगाडि बढाउन नसकेकोमा आपत्ति जनाए । च्याम्पियनसिप कार्तिक ८ गते देखि २० गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV