४ कार्तिक २०७८, बिहीबार
  • महेश पाण्डे

चितवन । पोलियो दिवसमा चितवन र नवलपरासीका आठ वटा रोटरी क्लबहरुले बृहत साईकल र मोटर र्‍याली गर्ने भएका छन् ।

चितवन र नवलपरासीका आठ वटा रोटरी क्लबहरुले पोलियो दिवसमा साईकल र मोटर र्‍याली गर्न लागेको सो कार्यक्रमका संयोजक रोटरी क्लब अफ रत्ननगरका पूर्व अध्यक्ष एवं रिजनल पोलियोप्लस कमिटी रिजन ६ का चेयर विपिन पोखरेलले जानकारी दिए ।

पोखरेलले सो कार्यक्रम समाजमा पोलीयो सम्बन्धी सचेतना जगाउने उद्देश्यले रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबहरु मिलेर यही कात्तिक ६ गते साईकल र ७ गते मोटर र्‍याली आयोजना गर्न लागिएको जानकारी दिए ।

रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा सो कार्यक्रम हुने पोखरेलको भनाई छ ।

पोखरेलका अनुसार पहिलो दिन नारायणगढको उद्योग वाणिज्य संघ परिसरबाट सौराहासम्म साईकल र्‍याली गरिने छ । जसमा ५० भन्दा बढी साईकल यात्रीको सहभागी हुने अपेक्षा गरिएको पोखरेलले बताए । त्यस्तै उनले दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर रेली हुने जानकारी दिए ।

पोखरेलका अनुसार दुई दिने र्‍यालीमा मोटरसाईकल र कारहरु को सहभागिता रहनेछ । उक्त मोटर र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा पुगेर परेवा उडाउने कार्यक्रम तय गर्ने पोखरेलको भनाई छ । उनले परेवा उडाएपछि र्‍याली गैंडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको उद्योग वाणिज्य संघ सभाहलमा आएर कार्यक्रममा परिणत हुने जानकारी दिए । उनले सो कार्यक्रमलाई सफल बनाउन एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसले टिसर्ट सहयोग गरेको जानकारी पनि दिए । पोखरेलका अनुसार र्‍याली पोलीयोको बारेमा समाजमा सकारात्मक सन्देश प्रवाहका लागि गर्न लागिएको हो ।

नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् । तर सरकारले प्रत्येक वर्ष पोलियो खोप अभियान भने सञ्चालन गर्दै आएको छ । यता सन् १९७९ बाट रोटरीले पोलियो उन्मुलनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाईजेरिया बाहेक अन्य देशमा पोलियो रोग छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV