३ कार्तिक २०७८, बुधबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पार्टी कार्यालयका सचिव, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शेरबहादुर देउवाको सरकारको सय दिनको समिक्षा गर्दा आफूले सय पूर्णाङ्कमा ०० मा १० नम्बर मात्रै दिने बताए ।

देउवा सरकारले सय दिन पूरा गरेको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सय पूर्णाङ्कमा १० दिने उनले बताए ।

उनले भने, ‘कनिकुथो गरेर सरकारको सय दिनको समिक्षामा नम्बर दिनुपर्दा १० नम्बर दिन सक्छु । उनले आफूहरुले सदन अवरुद्ध नगरेको जिकिर गरे ।

उनले भने,‘पार्लियामेन्टमा हिजोको सरकारले ल्याएका विद्येयकहरु ल्याएको थियो । पार्लियामेन्टको पहिलो बैठकमा विद्येयकहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामी त अहिले सामूहिक रुपमा आवाज उठाएका हौं । बरु सदन त सत्तापक्षले अवरोध गरिरहेको छ । जुन तरिकाले एमालेजतिको पहिलो दललाई विभाजन गर्नको लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याईयो, त्यो पनि पार्लियामेन्टको बैठक चल्दाचल्दै हठात् अधिवेशन अन्त्य गरेर अध्यादेश यो सरकारले ल्यायो । विभाजनअघि नै हामीले केही सांसद साथीहरुलाई कारबाही गरेका थियौं । तर, कारबाही सदर भएन ।’

उनले देउवा सरकारले सय दिन पूरा गरे भनिएता पनि ८८ दिनमात्रै सरकारले पूर्णता पाएको पनि बताए । उनले भने,‘यो सरकारले खासमा ८८ दिनमा मात्रै पूर्णता पायो । अहिले सय दिनभन्दापनि १२ दिनको हिसाब गर्नुपर्ला । यो सरकार हरेक क्षेत्रमा असफल छ । विकास निर्माणमा पनि फेलियर छ । मित्रराष्ट्रको सम्बन्धको हिसाबले धेरै गतिलो चालामाला देखिएको छैन् । ओली सरकारले बनाएका राजदूतहरु उहाँहरुले फिर्ता बोलाउनुभएको छ । चीनतिर सिमाना विवाद छ भनेर बिच्काईदिनुभएको छ । महाकाली नदीको तुईन प्रकरणमा सरकार एक शब्दपनि बोलेको छैन् । एमसीसीको बारेमा पनि सरकार स्पष्ट छैन । हरेक फिल्डमा सरकार फेल छ ।’

उनले सदन सुचारु गर्नको लागि आफूहरु सत्तापक्षीय र प्रतिपक्षी भएर वार्ता गर्न तयार रहेको सुनाए । उनले भने,‘प्रधानमन्त्रीसँग वार्ता गर्न तयार छौं । हामी सदन खुलाउन तयार छौं । त्यही वार्ताबाट निश्कर्ष निस्किन्छ ।’

उनले अहिले नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया अघि बढ्दा र सभापति देउवाजी कमजोर हुन लागे भने देउवाले यो संसद् छिट्टै भंग गर्ने पनि दाबी गरे ।

उनले भने, ‘देउवाजीले मुलुकलाई चलाउन सक्नुहुन्न, उहाँ टोटल फेइलर हुनुभयो । अब मुलुकको समय त बर्वाद गर्नु हुँदैन् । निर्वाचनतर्फ मुलुक जान्छ । तर, अझैपनि मुलुक राम्रोसँग चलाउनुहोस भन्ने हाम्रो शुभकामना छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV