३ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य

विराटनगर । प्रदेश १ का मुख्यन्त्री भीम प्रसाद आचार्यले अविरल वर्षका कारण आएको बाढी पहिरोबाट प्रभावित विस्थापितहरुको उद्धार र पुनर्स्थापनामा जुट्न निर्देशन दिनुभएको छ ।

बुधवार विराटनगर स्थित मुख्यमंत्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरणका लागि पूर्व सावधानी अपनाउन पनि आग्रह गर्नुभयो ।

सो बैठकले बाढी, पहिरो र डुबानबाट ज्यान गुमाएकाहरुलाई प्रदेश सरकारको तर्फाट प्रति व्यक्ति एक लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ । संघीय सरकारले प्रति मृतक २ लाख रुपैया राहत दिने बताइएको छ ।

यसैगरी संघीय सरकारले ल्याएको मनसुनजन्य विपद प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ पारित गर्ने र बाढी पहिरोबाट क्षति भएको आवास पुनर्निर्माणमा थप सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

सोमवार राति देखि परेको अविरल वर्षाका कारण प्रदेश १ मा ३८ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता रहेका छन् । यसैगरी अत्यधिक वर्षाका कारण प्रदेश १ मा करिब १५ प्रतिशत अर्थात करिब ४९ हजार ९ सय ४४ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको छ ।

प्रदेश विपद व्यवस्थापन परिषदको बैठकमा मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV