३ कार्तिक २०७८, बुधबार

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी/पहिरो प्रभावित क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षति रोक्न नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै कांग्रेसले तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजनाका साथ प्रभावित क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक रोक्न आग्रह गरेको हो ।

बाढीपहिरोमा परि सम्पर्कविहीन भएकाहरुको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न कांग्रेस सरकारसँग माग गरेको छ ।

केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी/पहिरोले वितण्डा मच्चाइरहेको छ । देशका विभिन्न जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको छ ।

हालसम्म बाढी/पहिरोबाट विभिन्न जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना वेपत्ता, कयौं घाइते र कयौं विस्थापित हुनु परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV