३ कार्तिक २०७८, बुधबार

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्यु भएको ४६ दिनपछि माइती पक्षले मृतकको अन्त्येष्टि गर्न सहमति जनाएको छ ।

माइती पक्षले ११ लाखको चेक बुझेपछि सहमतिअनुसार मृतकको ४६ दिनपछि आज (बुधबार) अन्त्येष्टि गरिएको छ।

गत भदौ २० गते बिहान सीता आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि माइती पक्ष हत्या गरिएको भन्दै आन्दोलनरत थियो ।

यसबीचमा प्रहरीले अनुसन्धानमा सीताले आत्महत्या गरेको र सुसाइड नोटसमेत फेला पारेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, प्रहरीको प्रतिवेदन मिलेमतोमा ल्याइएको भन्दै माइती पक्ष झन आन्दोलित भएको थियो ।

मंगलबार भने तिलोत्तमा नगरपालिका–१७ गंगोलियास्थित मध्यस्थकर्ताको घरमा दुई पक्षबीच लिखित सम्झौता भएको थियो । सम्झौतामा सीताका भाइले भिनाजु (टीका पौडेल)लाई दिएको एक लाख रुपैयाँ सापटी र सीताको विवाह गर्दा लागेको खर्च बापत १० लाख गरि ११ लाख रुपैयाँ दिनुपर्ने भनियो ।

र, त्यहीँअनुसार सीताका श्रीमान पक्षले ११ लाख रुपैयाँको चेक बुझाएपछि मृतकको अन्त्येष्टि गर्ने सहमति बनेको थियो । सहमतिमा सापटी एक लाख र विवाह गर्दा लागेको खर्च १० लाख गरि ११ लाख रुपैयाँ बुझ्ने र आगामी दिनमा यस विषयमा कुनै आन्दोलन वा विवाद नझिक्नुपर्ने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV