३ कार्तिक २०७८, बुधबार

काठमाडौं । सिभिल गुप्रका अध्यक्ष तथा पूर्व सांसद् इच्छाराज तामाङ पक्राउ परेपछि राष्ट्र बैंकका अधिकारीहरु समेत तनावमा परेका छन् ।

ठगीको आरोपमा गत असोज १८ गते केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित एक दर्जन बढीलाई सुन्धारा क्षेत्रबाट प्रक्राउ गरेको थियो । तामाङ अहिले पनि प्रहरी हिरासतमै छन् ।

अध्यक्ष तामाङ पक्राउ परेपछि सिभिल बैंकको निक्षेप लिन निक्षेपकर्ता लाइनमा बस्ने हुन् कि भन्ने डर सिभिल बैंकका अधिकारीलाई थियो । तामाङ पक्राउ परेको अर्को दिनदेखि नै सिभिलमा कति रकम निक्षेप निस्कने हो भन्ने तनाव भएको नियमन तथा सुपरिवेक्षण विभागका अधिकारीहरु सुनाउँछन् ।

बैंकका अध्यक्ष पक्राउ पर्दा निक्षेपकर्ता आउने हुन् कि भन्ने डर राष्ट्र बैंकका अधिकारीहरुलाई समेत थियो । निक्षेपकर्ता सिभिलमा लाइन लाग्न गएको भए त्यो व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई पनि चुनौती हुन्थ्यो ।

अध्यक्ष तामाङ पक्राउ परेपनि सिभिल बैंकलाई असर भने परेन । बैंकको सञ्चालन प्रमुख कार्यकारी अधिकृत (सीइओ)को नेतृत्वमा व्यवस्थापनले गर्ने भएकाले बैंकलाई असर नपरेको हो ।

तामाङविरुद्ध ७० जना निक्षेपकर्ताको ४६ करोड बढी ठगी गरेको उजुरी छ । आफैं साहु र आफैं ऋणी बनिरहेको सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभबाट सिभिल ग्रुपले ९० प्रतिशत कर्जा लिएको छ । ग्रुपले निक्षेपकर्ताहरूकाे सावाँ-ब्याज नतिरेपछि सहकारी चरम संकटमा परेको थियो।

सिभिल सहकारीले सुशासनको न्यूनतम सर्त पनि पालना नगरी संस्थापक तामाङकै सिभिल होम्सलाई जथाभावी ऋण दिँदा सहकारी समस्यामा परेकाे भन्दै निक्षेपकर्ताले सरोकारवाला निकायमा उजुरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV