३ कार्तिक २०७८, बुधबार

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको एट्लेटिकोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउनको लागि मोहम्मद सलाहले दुई गोल गरे भने नावी केइटाले गोल थपे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरेका थिए ।

खेलको आठौं मिनेटमा मोहम्द सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३औं मिनेटमा नावी केइटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

खेलको २०औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै २–१ को अवस्थामा ल्याए । उनले कोकीको पासमा गरेका थिए ।
३४औं मिनेटमा ग्रिजमनले जोआओ फेलिक्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफमा नायक बनेको ग्रिजमनले दोस्रो हाफ मैदान छाड्नु परेको थियो । ५२औं मिनेटमा बल खोस्ने क्रममा रोबर्टो फिर्मिनोलाई खुट्टाले टाउकोमा प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

७८औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई ३-२ को रोमाञ्चक जित दिलाए ।

जितपछि अपराजित रहेको लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समूहमा पहिलो हार बेहोरेको एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV