२ कार्तिक २०७८, मंगलवार

काठमाडौं। तीन बुँदे सहमति कार्यान्वयनबारे सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सकारात्मक छलफल भएको छ । मंगलबार गृह मन्त्रालयमा तत्कालीन ओली सरकार र विप्लव समूहबीच कार्यान्वयन गर्न बनाइएको तीनबुँदे सहमति कार्यान्वयनबारे सकारात्मक छलफल भएको हो ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी थिए।

ओली सरकारले विप्लव समूहलाई शान्ति सम्झौता ल्याउँदा विप्लव समूहका नेता कार्यकर्तामाथि लगाइएका सबै अभियोग फिर्ता र रिहाइ गर्ने सम्झौता गरेको थियो । त्यस विषयमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिलाई मध्यनजर गर्दै अन्तिमपटक त्यसबारे सूची तयार गर्ने सहमति भएको छ ।

अन्तिम सूची तयार भए पछि मुद्दाहरुलाई किनारा लगाउनेबारे बैठकमा छलफल गरिने बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव समूहबीच २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो ।

सहमतिमा कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहको रिहाई र मुद्दा खारेज गर्ने भनिएको थियो । तर, ओली सरकारको बहिर्गनसँगै आएको देउवा सरकारले आफ्ना मागहरु पूरा नगरेको भन्दै विप्लव समूहले यसअघि पटक पटक प्रदर्शनसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV