२ कार्तिक २०७८, मंगलवार

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

नेकपा एमाले कास्कीले बुधबार पोखरामा आयोजना गर्ने शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएका पोखरेलले आज प्रमुख जिसीको निवासमै पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको हो । महासचिव पोखरेलसँगै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री तथा एमालेका नेता जगत विश्वकर्मा, एमालेका नेता भीम कार्की, प्रदेशसभा सदस्य राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणि पौडेल लगायतले प्रमुख जिसीलाई भेट्नुभएको हो ।

महासचिव पोखरेललाई जिसीले स्वास्थ्यमा क्रमिक सुधार भएको र छिट्टै निको हुने बताउनुभएको प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो ।

गत साउन १ गते अचानक मष्तिस्काघात भएपछि उपचारका लागि काठमाडौँ जानुभएका ६१ वर्षीय प्रमुख जिसी गत असोज २३ गते पोखरा फर्किनुभएको हो । उहाँका अनुसार उपेन्द्र देवकोटा मेमोरिएल न्यूरो अस्पतालमा करिब एक महिना उपचारपश्चात् पोखरा फर्कनुभएका जिसीले अहिले नियमित फिजियोथेरापी गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV