१ कार्तिक २०७८, सोमबार
  • भगतराम थारु

नेपालगन्ज । लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्लामा भब्य स्वागत गरिएको छ ।

मन्त्री पद सम्हालेपछि पहिलो पटक गृहजिल्ला बाँके आइपुगेका उहाँलाई कांग्रेस नेता तथा कार्यकर्ता, खेलाडी, आफन्त र शुभेच्छुकले स्वागत गरेका हुन् ।

स्थलमार्ग हुदै आएका हमाललाई बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, अगैया, कोहलपुर, हवल्दारपुर, राँझा र नेपालगन्जमा सोमबार भब्य रुपले स्वागत गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोल निवासी मन्त्री हमाललाई बाजागाजासहित स्वागत गरिएको थियो । कोहलपुरमा आयोजित कार्यक्रममा सहभागी भएपछि उहाँले लखनास्थित एक मन्दिरको दर्शन गर्नुभएको थियो । त्यसपछि नेपालगन्ज आएर प्रशिद्ध शक्तिपीठ बागेश्वरी लगायत विभिन्न मन्दिरको दर्शन गर्नुभयो ।

ओलम्पियन समेत रहेका मन्त्री हमाललाई बागेश्वरी मन्दिर परिसरमा खेलाडीको एक समुहले स्वागत गरेको थियो । घरबारी टोल क्षेत्रमा मन्त्री हमाल आफै घर–घरमा पुगेर भेटघाट समेत गरे । ठुलो संख्यामा उपस्थित भएका कांग्रेस नेता तथा कार्यकर्ता, आफन्त तथा शुभेच्छुकले माला, खादा र अबिर लगाएर उहाँको स्वागत गरे ।

स्वागत पश्चात मन्त्री हमालले आफुमाथी ठुलो जिम्मेवारी थपिएको बताउँदै आफुमाथी आमरुपमा गरिएको विश्वासलाई खडो र इमान्दारी पर्वक काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । ‘एउटा ठुलो जिम्मेवारी म माथी थपिएको छ, म माता बागेश्वीसँग प्रार्थना गर्दछु, उहाँले जुन म माथी विश्वास गर्नु भएको छ, त्यो विश्वासमा म खडो र इमान्दारीपुर्वक काम गरेर देखाउनेछु,’ उहाँले भन्नुभयो ।

मन्त्री हमालले वातावरण संरक्षण, वन अतिक्रमण र डढेलो नियन्त्रण तथा वैज्ञानिक वनका विषयमा कार्ययोजना बनाएर काम गर्ने सोच बनाएको बताउनुभयो । ‘अब अगाडी हेरौं भन्नुभन्दा पनि काम गरेर देखाउन राम्रो हुन्छ, त्यसकारणले भन्नुभन्दा गर्नुपर्छ भन्ने मेरो मान्यता छ, ।

आगामी दिनमा बाँके जिल्लाको तीन वटै क्षेत्रमा नेपाली कांग्रेसलाई जिताउन सम्पुर्ण कार्यकर्तालाई एकवद्ध भएर अगाडी बढ्न उहाँले आग्रह पनि गर्नुभयो । स्वागत पाउनु राजनीतिककर्मीका लागि खुसीको कुरा भएको बताउँदै मन्त्री हमालले भन्नुभयो, ‘मैले यतिखेर आफ्नो दाई स्वर्गिय रणेन्द्रबहादुर हमाललाई सम्झिरहेको छु, जसरी रणेन्द्रबहादुर हमालले हिजो पञ्चायतकालमा नेपाली कांग्रेसलाई अगाडी डोर्याए, जुन माया र ममता मेरोे माइलो दाई रणेन्द्रबहादुर हमालले पाए, उहाँले देखाएको बाटोमा म हिड्छु ।’ आफुलाई स्वागत गर्ने नेपाली कांग्रेस र प्रजातन्त्रप्रेमी सबैप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

स्थलमार्ग भएर नेपालगन्ज आउनुभएका उहाँलाई आइतबार पनि विभिन्न ठाउँमा स्वागतसँगै बधाई दिएका थिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । गृहनगर नेपालगन्जमा करिव चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV