३१ आश्विन २०७८, आईतवार

सुन्दर पहाडहरु र बौद्ध गुम्बा, चैत्यहरुका मनै लोभ्याउने सुन्दर दृश्यहरुका कारण भुटान हरेक यात्रीका लागि एक सपनाको देश हो । यहाँ घुम्न जोकोही लालायित हुने गर्छन् ।

केही मानिसहरु यसलाई संसारको अन्तिम ‘सांग्रि-ला’ पनि भन्छन् । ‘सांग्रि-ला’ अर्थात् सबै कुराको पूर्णता भएको पवित्र ठाउँ । विश्वका व्यस्त शहरहरुमा प्रदूषण र ट्राफिक जाम, कोलाहलजस्ता समस्याबाट थकित यात्रीका लागि भुटानको राजधानी थिम्पु शहर एक आरामदायी ठाउँ हो ।

ताजा हावा, हरिया पहाड एवं कञ्चन हिमशिखरहरु… यी त्यस्ता चीजहरु हुन्, जसले मानिसको आँखालाई राहत दिन्छन् र मनलाई मुग्ध पार्छन् । जुन कुराको अनुभूति थिम्पुमा गर्न सकिन्छ । महिला, बाल–बच्चा तथा पुरुषहरु सबै परम्परागत राष्ट्रिय पोशाक लाएर सडकमा आरामसँग हिडिरहेका देखिन्छन्, यसले पनि मानिसकाे मनलाइ लाेभ्याउँछ ।

भुटानमा सब ठीकठाक छ त ?

भुटान सायद संसारको एक मात्र देश हो, जहाँ ट्राफिक सिग्नल छैनन् । तर पनि त्यहाँ खासै ट्राफिक जाम हुँदैन । ट्राफिक पुलिस कर्मचारीहरु हातको इशाराले सडकमा सवारीको आवागमन नियन्त्रण गरिरहेको देख्न सकिन्छ। तर यसको मतलब यो होइन कि भुटानमा सबै ठीकठाक छ।

विगत एक वर्षदेखि यो देश तनाव र एक किसिमको अनिश्चितताबाट गुज्रिरहेको छ। भुटानको स्थिति अहिले चीन र भारतको बीचमा रहेको एक ‘स्यान्डबिच’ जस्तै भएको छ ।

जब ८ लाख जनसंख्या भएको यो पहाडी मुलुकको आसपास एशियाकै दुई ठूला सैन्यशक्ति भएका देशहरुको सैन्य गतिविधि शुरू हुन्छ, तब बेचैनी बढ्छ। भारत र चीनको बीचमा डोकलाम विवाद छ, जुन एक रणनीतिक पठार क्षेत्र हो । यस विवादका कारण दुई ठूला देशहरुको चेपुवामा भुटान पर्ने गरेको छ ।

के हो डोकलाम मुद्दा ?

डोकलाम एक विवादित पहाडी (पठार) क्षेत्र हो, जुन क्षेत्रमाथि चीन र भुटान दुवैले आआफ्नो दाबी गर्ने गर्छन् । डोकलाममा अहिले भारत, भुटान र चीनको त्रि–जंक्शन जस्तै स्थिति छ।

भारतले डोकलाममा भुटानको दाबीलाई समर्थन गर्दछ भने चीनको भूभाग हो भन्नेमा भारत सहमत छैन। सन् २०१७ को जून महिनामा यहाँ जब चीनले सडक निर्माणको काम शुरू गर्‍यो, तब भारतीय सैनिकहरूले यसलाई रोके । यसैबाट डाकलामको बारेमा भारत र चीनबीच विवाद शुरू भएको मानिन्छ।

भारतको तर्क छ कि चीनले डोकलाममा बनाउन चाहेको सडकले भारतको सुरक्षा समीकरण बदल्न सक्छ। भारतलाई के पनि डर छ भने यदि भविष्यमा दुई देशबीच कुनै द्वन्द्वको स्थिति उत्पन्न भयो भने चिनियाँ सैनिकहरु डोकलाम क्षेत्रको उपयोग गरेर सजिलै भारतको सिलीगुड़ी कोरिडोर कब्जा गर्न सक्छन्।

सिलीगुड़ी कोरिडोर भारतको नक्शामा एक ‘कुखुराको गर्दन’जस्तो क्षेत्र हो, जसले समग्र भारतलाई बाँकी पूर्वोत्तर भारतसँग जोड्दछ। तर जानकार भन्छन् कि भारतको यो डर काल्पनिक हो, चीनप्रति त्यति धेरै शंका गर्न जरुरी छैन।

डोकलाम विवादको उत्कर्ष

भुटानका सबै जनता डोकलामको महत्वबारे जानकार छन् भन्न सकिँदैन। त्यहाँ धेरै जनता अहिले पनि यसबारे सचेत छैनन्।

‘केही महिना पहिलेसम्म जब मुद्दा ज्यादा विवादास्पद भएको थिएन, डोकलामको कुनै महत्व थिएन,’ थिम्फुका एक पत्रकार नामगे जामले भने, ‘धेरैजसो भुटानीलाई यो पनि थाहा छैन कि डोकलाम कहाँ छ। यो मुद्दामा चीन र भारतबीच विवाद भैसकेपछि मात्र मानिसहरुबीच छलफल र बहस हुन थालेको हो।’

केही महिनापहिले जब डोकलाम विषयलाई लिएरु चीन र भारतबीच तनावपूर्ण स्थिति सृजना भयो, तब धेरै भुटानीहरुलाई लाग्न थाल्यो कि अब दुई देशबीच युद्ध हुनसक्छ ।

त्सबेला चीन भारतसँग रिसाएको थियो र उसले धम्कीपूर्ण अभिव्यक्ति दिँदै भनेको थियो, ‘डोकलाममा भारतीय सैनिकहरुले घुसपैठ गरे ।’

हप्तौँको कूटनीतिक प्रयासपछि ७३ दिनसम्म चलेको विवाद अन्ततः समाधान भयो, भारतीय सैनिकहरु फिर्ता बोलाइए। चीनका सेना पनि पछि हटे।

भुटानमा भारतको प्रभाव

तर, भुटानी सरकारले डोकलाम विवादबारे कुनै पनि सार्वजनिक बहसमा सामेल हुन अस्वीकार गर्यो । भुटान पक्षबाट जारी एक बयानमा डोकलाममा भारत र चीनबीच भएको सम्झौताको स्वागत गरिएको थियो र यो भनिएको थियो कि दुबै पक्ष आफ्ना सेना फिर्ता गर्न सहमत भएका छन्।

भुटानमा यस्ता धेरै मानिसहरु भेटिन्छन्, जो डोकलाम घटनालाई एक खतराको घण्टीको रूपमा देख्छन्। यस्ता बहस अहिले भुटानको सामाजिक सञ्जालमा पनि देखिन्छन्। भुटानी जनता सोधिरहेका छन्– के चीनसँग सीमा विवाद समाधान गर्नको लागि यही नै उत्तम समय हो ?

यस दिशामा भुटानले आफ्नो स्वतन्त्र विदेश नीति अपनाउनुपर्छ कि पर्दैन भन्ने कुरामा पनि बहसहरु भइरहेका छन्। भुटान भारतको प्रभावबाट बाहिर आउनुपर्छ भन्ने तर्कहरु पनि भइरहेका छन्।

भारतद्वारा आर्थिक र सैन्य सहायता

सन् पचासको दशकमा चीनले तिब्बत कब्जा गरेपछि भुटानको झुकाव तुरुन्तै भारततिर ढल्केको थियो। यसका दुई कारण थिए, मित्रता र सुरक्षा।

तबदेखि नै भुटान भारतको प्रभावमा रहिआएको छ। भारतले भुटानलाई आर्थिक, सैन्य र प्राविधिक सहयोग प्रदान गर्दछ। भारतले अन्य देशहरुलाई दिने आर्थिक सहयोगको सबैभन्दा ठूलो लाभ भुटानले प्राप्त गर्दछ। पछिल्लो पञ्चवर्षीय योजनामा ​​भारतले भुटानलाई ८० करोड डलर सहयोग दिएको थियो।

यसका साथै अहिले भुटानमा सयौं भारतीय सैनिकहरु तैनाथ छन्। अधिकारीहरुका अनुसार उनीहरु भुटानी सैनिकहरुलाई तालिम दिइरहेका छन्। भुटानको सैन्य मुख्यालय ‘हा’ शहरमा स्थित छ, जो डोकलामबाट जम्मा २० किलोमिटर टाढा पर्छ।

एकातिर, मानिसहरु भुटानलाई भारतीय सहयोगका लागि धन्यवाद दिइरहेछन्, जो दशकौंदेखि प्राप्त गर्दै आएको छ । र, अर्कोतर्फ भुटानको नयाँ पुस्ता भुटानले आफ्नो भाग्य आफै निर्माण गरोस् भन्ने चाहन्छन् ।

भुटानको राजनीतिक भविष्य

भुटानको विदेश नीतिमा भारतको सुरक्षा चिन्ताको ख्याल राखिएको पाइन्छ। यसको कारण हो सन् १९४९ को भारत र भुटानबीच भएको एक सम्झौता। यो सम्झौता सन् २००७ मा संशोधन गरिएको थियो। यसअन्तर्गत, भुटानले विदेश नीति र सैन्य खरिदमा अधिक स्वतन्त्रता पायो।

थिम्पुका केही मानिसहरुलाई के लाग्छ भने भारतले आफ्नो प्रभुत्वका कारण भुटानमाथि मनोमानी गर्दछ । लेखक र राजनीतिक विश्लेषक गोपीलाल आचार्य भन्छन्, ‘जब हामी लोकतन्त्रिक मुलुकको रूपमा परिपक्व हुन्छौं, अनि हामी भारतको छायाँबाट बाहिर आउन सक्षम हुनेछौँ।’

उनको थप तर्क छ, ‘भारतले भुटान आफ्नो नियन्त्रणमा रहेको देश हो भनी सोच्नुहुँदैन। भुटानले आफ्नो राजनीतिक भविष्यको निर्णय आफैँ गरोस्।’

चीनसँग समस्या हल गर्ने समय

भुटान र चीनबीच उत्तर तथा पश्चिमका इलाकामा सीमा विवाद छ। त्यहाँ भुटानीहरुमा अहिले यो कुराको महसुस बढिरहेको छ कि भुटानका लागि चीनसँगको सीमा विवाद समाधान गर्ने सही समय यही हो।

राजनीतिक विश्लेषक कर्मा तेन्जिन भन्छन्, ‘भुटानले चीनसँगको यो समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्छ। तब मात्र हामी कूटनीतिक रुपमा अगाडि बढ्न सक्छौं। यदि यो भएन भने डोकलाम मुद्दा फेरि बल्झिरहनेछ। दुई शक्तिशाली देशहरु भुटानको ढोकामा आफ्नो विवाद समाधान गर्न सक्दैनन्।’

थिम्पुमा जब यस आलेखका पंक्तिकारले केही मानिसहरुसँग उक्त विषयमा कुरा गरे, तब धेरैको भनाइ थियो कि भारतले संयम अपनाउनुपर्छ र चीनसँग विवाद हुनबाट जोगिनु पर्छ। उनीहरुलाई लाग्छ– भारतको रवैयाको कारण भुटानलाई चीनसँगको विवाद समाधान गर्न कठिन हुनेछ।

नेपालको उदाहरण

भारतले नेपाल, श्रीलंका, माल्दिभ्स, बंगलादेशजस्ता दक्षिण एसियाली देशहरुमा सडक निर्माण गर्न चीनलाई रोक्न असफल भएको छ। भुटान दक्षिण एसियाको यस्तो एक मात्र देश हो, जसको चीनसँग कुनै कूटनीतिक सम्बन्ध पनि छैन।

पछिल्लो समय भारतले अनुचित तरिकाले आफ्नो देशबाट प्राकृतिक स्रोतहरुको दोहन गरिरहेको छ भन्ने भुटानको सचेत वर्गलाई लाग्न थालेको छ। नयाँ दिल्लीकोे ‘ठूल्दाइ’ प्रवृत्तिका कारण धेरै मानिसहरु चीनसँग व्यापारिक सम्बन्ध कायम राख्न वकालत गर्न थालेका छन्।

उनी नेपालको उदाहरण दिँदै भन्छन्– नेपाल प्रायः भारतसँगको सम्बन्धमा चिनियाँ कार्ड खेल्छ। भुटानले पनि चीनसँग समेत सम्बन्ध बढाएर भारतकाे प्रभाव कम गर्नुपर्छ भन्ने उनकाे बुझाइ छ।

समानताको आधार

तर विश्लेषक गोपीलाल आचार्य भन्छन्, ‘हाम्रो भविष्य भारतसँगै छ। तर हामीले एक नयाँ सम्बन्धको आधारशिला बनाउनुपर्छ, जुन भारत र भुटानको बीच समानतामा आधारित होस्।’

एकातिर अहिले भारतले चीनसँग सैन्य र आर्थिक दुबै मोर्चामा बढ्दो चुनौतीहरुको सामना गर्नुपरेको छ । अर्कोतिर यस्तो खतरा पनि छ कि यदि परराष्ट्र नीति आपसी सम्मानको आधारमा बन्न सकेन भने भारतले मित्र ठानेका मुलुकहरु पनि उसको हातबाट उम्किन सक्छन्।

भुटान एक सानो पहाडी देश भए पनि यसको आफ्नै रणनीतिक महत्व छ। भुटान भारत र चीनको दुश्मनीको चेपुवामा आफू पर्न चाहँदैन। भुटानको सिमानामा भारत र चीनका सैनिकहरु एक-अर्काप्रति बन्दुक समाएर उभिएको दृश्य त भुटानी जनताहरु अन्तिममा मात्र देख्न चाहन्छन् ।

(बिबिसी हिन्दीका लागि थिम्पुबाट अनबरसन इथीराजनले तयार पारेको यो आलेख न्यूज २४ नेपालका लागि राजेन्द्र तारकिणीद्वारा अनुदित)

प्रतिक्रिया दिनुहोस्

LIVE TV