३१ आश्विन २०७८, आईतवार
  • तारा आचार्य

विराटनगर । मोरङको विराटनगर स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा रहेको पेट्रोल स्टोरेज ट्यांकको क्षमता बढाउने कार्य शुरु गरिएको छ ।

पेट्रोलको बिक्री बढेको र दैनिक पेट्रोलियम पदार्थ आयात गरेर बिक्री गर्दा कुनै पनि बेला अभाव हुन सक्ने भएकाले पेट्रोलको स्टोरेज बढाउन लागिएको हो । आयल निगमको विराटनगर डिपोमा ५ लाख ६० हजार लिटर क्षमताको पेट्रोल स्टोरेज ट्यांक रहेको छ । सो डिपोमा रहेको मट्टितेलको दुई वटा स्टोरेज ट्यांकलाई पेट्रोल स्टोरेज ट्यांकमा परिणत गर्न लागिएको नेपाल आयल निगम प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहले जानकारी दिनुभयो ।

विराटनगर डिपोमा रहेको ७ लाख ५० हजार लिटर र ७ लाख १० हजार लिटरको मट्टितेल स्टोरेज ट्यांकलाई पेट्रोल स्टोरेज ट्यांकमा परिणत गरिएपछि पेट्रोल स्टोरेजको क्षमता २० लाख २० हजार लिटर पुग्नेछ ।

विराटनगर डिपोबाट दैनिक ३ लाख ५० हजार लिटर पेट्रोल र ८ लाख लिटर डिजल विक्री हुने गरेको छ । सो डिपोमा ७१ लाख १० हजार लिटर क्षमताको डिजल स्टोरेज ट्यांक रहेको छ ।

विराटनगरमा डिजल अमलेखगंजबाट र पेट्रोल भारतको सिलिगुडी र बरौनीबाट आयात गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV