३० आश्विन २०७८, शनिबार

काठमाडौैै । आजको दिनका लागि २८ बर्ष कुर्नु पर्यो नेपालले । यो प्रतीक्षालाई मिठासमा बदल्न नेपाली राष्ट्रिय फुटबल टोली माल्द्धिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा उत्रिसकेको छ । चीर प्रतिद्धन्द्धी भारतविरुद्धको खेल जितेर पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न आतुर रहेको नेपाली टोली यही आशा बोकेर मैदानमा उत्रिएको छ ।

साफ च्याम्पियनसिप सुरु भएको २८ बर्ष पछि पहिलो पटक फाइनलमा उत्रिएको नेपालले यस अघि पाँच पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यसपटक पहिलो खेलमा आयोजक माल्द्धिभ्सलाई एक शून्यले , दोस्रो खेलमा श्रीलंकालाई ३ – २ ले पराजित गरेको नेपाल भारतसंग एक शून्यले पराजित भएको थियो । बंगलादेशसंगको खेल एक एकको बराबरीमा रोक्दै फाइनलमा उत्रिएको नेपालले भारतसंग यस अघि समूह चरणको खेलको गल्ती नदोहोर्याउने बताइसकेको छ ।

बंगलादेश र श्रीलंकासंग बराबरी खेलेपनि नेपाल एक शून्य र आयोजक माल्द्धिभ्सलाई ३–१ अन्तरले पराजित गरेर फाइनलमा उत्रिएको भारतले यस अघि सात पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ । विस्तारै लयमा देखिएको भारतले नेपाललाई कमजोर नआक्ने र भरपूर मेहनत गर्ने बताइसकेको छ ।

यता नेपालले पहिलो पटक उपाधि भित्र्याउन कुनै कसर बाँकी नराख्ने पनि बताइसकेको छ । आम नेपाली फुटबल प्र्रेमी पनि नेपाली राष्ट्रिय टोलीबाट बडा दशैंमा यही उपहारको प्रतीक्षामा छ ।

नेपाली फुटबल टोलीका अग्रपंक्तिका अञ्जन विष्ट आजको खेलमा देखिने छैनन् । दोहोरो पहेलो कार्डका कारण उनले खेल गुमाएका हुन् । विष्टले जारी साफमा नेपालका लागि २ गोल गरिसकेका छन् । तर नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई भने नियोजित रुपमा नै साफ फुटबल फेडरेशनले मैदानमा उपस्थित हुन नपाउने गरि प्रतिबन्ध लगाएको छ । जस्को सर्वत्र आलोचना भएको छ ।

भारतविरुद्ध उत्रने नेपाली टोलीमा कप्तान तथा गोलरक्षक किरण लिम्बू, दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV