३० आश्विन २०७८, शनिबार
  • डा. शेरबहादुर पुन

केही दिन अगाडि एकजना डेंगु संक्रमित लेखकको सम्पर्कमा आइपुगेका थिए। संक्रमितका अनुसार सोही स्थानमा डेंगुसँग मिल्दोजुल्दो लक्षणहरु भएका अरु पनि छन् तर दशैको कारणले परिक्षण तथा पहिचानमा ढिलाइ भएर निदान हुन भने सकेको छैन । सो संक्रमितको परिवार जनका भनाइअनुसार सो स्थानमा हाल व्यापक लामखुट्टे देखिएका छन् । संक्रमित दुइ हप्तायता काठमाडौँ बाहिर गएको इतिहास पनि छैन ।

लेखकले केही हप्ता अगाडि मात्र पनि ‘त्रियो’ भाइरसको (डेंगु, चिकुनगुनिया र जीका भाइरस) जोखिम नेपालमा बढ्दै गएको भनेर लेख प्रकाशित गरेको थियो । यी तिनै भाइरस फैलाउने एडीस जातको लामखुट्टेलाई लेखकले ‘स्मार्ट लामखुट्टे’को उपनाम पनि दिएको थियो। एडीस जातको लामखुट्टेले पछिल्लो समय काठमाडौँमा आफ्नो बर्चशो बढाउदै जादा डेंगुको बिरामी बढ्दै जानसक्ने लेखकको बिश्लेष्ण छ। माथि उल्लेखित संक्रमितको उदाहरणले पनि त्यही संकेत गर्दछ।

कस्ता लक्षण देखिन्छन् ?

समयमा नै पत्ता लगाई चिकित्सकको निगरानीमा रहन सके डेंगुको मृत्युदर एक प्रतिशत भन्दा कम हुने अनुसन्धानहरुले देखाएका छन्।संक्रमण भएको चारदेखि दश दिनसम्ममा लक्षणहरु देखिने गर्दछन्। ज्वरो आउनु, आखाको गेडी (पछाडिको भाग) दुख्नु, मांशपेशी दुख्नु, वाकवाकी वा बान्ता हुनु, जोर्नी वा शरीर दुख्नु, शरीरमा स-साना राता टिकटिक परेका बिबिरा देखिनु डेंगुका मुख्य लक्षण हुन्।

तर डेंगुले जटिल अवस्था पनि निम्त्याउन सक्दछ। विशेषतः ज्वरो कम भएको २४ देखि ४८ घण्टामा पेटको दुखाइ अत्यधिक हुनु, लगातार बान्ता हुनु, गिजाबाट रगत बग्नु वा बान्तामा रगत देखिनु, सास छिटोछिटो फेर्नु, आलश्य हुनु, कलेजोको आकार बढ्नु र प्रयोगशाला जाँचमा तीव्र गतिमा प्लेटेलेट्सको संख्या घट्नु र हेमाटोकृत बढ्नुजस्ता लक्षण देखिए क्रिटिकल फेजमा पुगेको मानिन्छ। यो अवस्थामा अस्पताल भर्ना भई चिकित्सकको निगरानीमा उपचार गर्नु पर्दछ। तर यो अवस्थालाई बेवास्ता गरिए संक्रमितको मृत्यु समेत हुनसक्दछ।

सन् २०१९ मा नेपालमा उच्च संक्रमण

सन् २०१९ मा नेपालको इतिहासमा नै सबैभन्दा लामो अवधि र धेरै डेंगु संक्रमित भएका थिए। सो समयको महामारीलाई विभिन्न कोणबाट लेखकले नियालेको थियो। सो अब्जरभेसनबाट लेखकले धेरै मानिसहरु घरबाट (आफू बस्ने घर) मात्र नभई आफ्ना कार्यालय, व्यापार-व्यवसाय गर्ने जस्ता ठाउँहरुबाट पनि डेंगु संक्रमित हुने गरेको देखेको थियो। एडीस जातको लामखुट्टे पनि विशेषतः बिहान र सुर्यास्त हुनुअगाडि बढी सक्रिय हुने वा टोक्ने हुनाले, वास्तमा डेंगु संक्रमणको जोखिम रातमा भन्दा दिनमा बढी हुने देखिन्छ।

कार्यस्थल सफा राख्नुपर्ने

डेंगुको जनचेतनामूलक कार्यक्रममा आफ्ना घर वरिपरि लामो समयसम्म पानी जम्न नदिने र लामखुट्टेका लार्भाहरु देखिए नष्ट गर्न भनिन्छ जुन । “खोज र नष्ट गर” अभियानको नामले विगतदेखि परिचित पनि छ। यो सन्देशले धेरै मानिसहरुले आ-आफ्नो घर-आँगन वरिपरि पानी जम्न नदिने र लामखुट्टेका लार्भाहरु देखिए नष्ट गर्ने वा गरे पुग्छ भन्ने बुझाइ देखिन्छन। तर धेरै जना दिनको समय आ-आफ्ना कार्यालय वा व्यापार-व्यवसाय गर्ने ठाउँमा नै समय व्यतीत गर्ने गर्दछन्। यस्ता ठाउँहरुमा सपरिवार आफैँ नबस्ने हुनाले वरिपरि पानी जमे/नजमेको ध्यान नदिने तथा लामखुट्टे नियन्त्रणमा पनि खासै चासो नदिने गरेकाे देखिन्छ। यो अब्जरभेशन नयाँ भए तापनि डेंगु नियन्त्रणमा कोशेढुंगा साबित हुन सक्दछ।

अन्तमा, आफु बस्ने घर वरिपरि मात्र होइन आ-आफ्नो कार्यालय स्थलमा पनि लामखुट्टे बस्ने वा विकसित हुने वातावरण शृजना गर्नु हुँदैन । त्यसाे भए पनि नष्ट गर्नु पर्दछ। दिनको लामो समय कार्यालयमा (वा काम गर्ने थलोमा) व्यथित गर्ने गर्दछौँ र सो समय एडीस लामखुट्टेको पनि सक्रिय हुने/टोक्ने समय उत्तम भएकोले डेंगुको स्रोत पनि आफ्नै कार्यालय बन्न सक्दछ। डेंगु सिजनमा जो कोही दिनको अधिकतम समय एडीस लामखुट्टे व्यापक भएको ठाउँमा व्यतीत गर्दछ भने त्यो ठाउँ डेंगु संक्रमणको बलियो स्रोत बन्न सक्दछ। लेखकले दिएको यो उपायलाई पनि डेंगु नियन्त्रणमा सामबेश गर्ने कि?

(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालकाे  क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

LIVE TV