३० आश्विन २०७८, शनिबार

म हिँड्न चाहन्छु
आफ्नै खुट्टाले,
म बोल्न पनि चाहन्छु,
ती वर्षौँदेखी नखोलिएका
लामो समयसम्म गाँठो पारिएका
अनि आरनको फलामझैँ पिटिएको
गह्रौँ मनसँग,
म धक फुकाएर बोल्न चाहन्छु
र, कोर्न चाहन्छु आफ्नै भविष्य
मनको पाण्डुलिपिमा।

मन त मलाई पनि छ,
यी हरिया गोरेटाहरु आफैँ गोडेर फलाउँ
सुकिसकेका रहरहरुलाई पुनः जगाउँ
बिरक्तिएका आँतहरुलाई हौसलाको सुगन्ध छरौँ
अनि,
खडेरी लागेका चाहनाहरुलाई
पूरा हुन सक्ने पोखरीमा पौडाउँ।
तर समय सधैं कहाँ एकनास रहने रैछ र ?
बजिसकेको बाह्र पनि एघारमा सर्दैछ यहाँ।
फेरिइसकेको खुसी पनि किन किन टर्दैछ यहाँ।

बिझेको काडाँ निकाल्ने कहाँ सधैं काँडा नै हुने रैछ र ?
यहाँ त समयले दिएको चोट
समयसँगै मेटिन्छ भन्ने आश पनि मरिसक्यो।

ए प्यारो सुभचिन्तक,
मेरो एक झलक मात्र पनि हेर्नुछ भने,
म सँगै पुराना सम्झना ब्युँझाउनुछ भने,
यी तमाम मेटिएका गोरेटाहरु
खन्दै खन्दै आउनु है।

प्रतिक्रिया दिनुहोस्

LIVE TV